जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यदलको बैठक बर्दियामा

चैत्र २४, २०८१

कमल पन्थी

Public Opinion and Civil Liberation Party working group meeting in Bardia

बर्दिया — मधेश र तराईमा गत आम निर्वाचनमा उदाएका जनमत र नागरपक उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्दै छ ।

कार्यदलको बैठकले विधान मस्यौदा प्रतिस्थापनका लागि समिति बनाउने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आइतबार बस्ने बैठकमा विधानले मूर्तरुप पाउने बताए । 

पार्टी एकीकरणका लागि बैशाख ५ र ६ गते टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने उनले जनाए । गुलरियामा चौधरीको घरमा बिहान सिके राउतसँग भेटवार्तापछि उनीहरु अमरपुर गएका छन् ।  

संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताए । एकीकरणका लागि दुबै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतको भनाइ छ । उनले भने, ‘केही कुरामा समझदारी नभए दुबै पार्टीले आ–आफ्ना अडान छाड्नेछौं । जति हुन्छ छिटो एकिकरणको मुद्दा टुंग्याउने छौं । पहिचानको मुद्दा दुबै पार्टीको हो ।’

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully