लुम्बिनी प्रदेशका १२ जिल्ला र प्रादेशिक अस्पतालको समस्या पहिचान गरिँदै

चैत्र २४, २०८१

माधव अर्याल

Identifying the problems of 12 district and provincial hospitals of Lumbini province

पाल्पा — लुम्बिनी प्रदेशका १४ अस्पतालको समस्या पहिचान गर्न पूर्वमन्त्री र विज्ञ टोली जिल्ला जिल्लामा पुगेको छ । रुकुम पूर्व, गुल्मी, पाल्पालगायतका जिल्लामा टोलीले सुझाव लिएको छ भने सबै जिल्लाका अस्पतालका साथै प्रादेशिक अस्पतालको सेवाको गुणस्तर, आत्मनिर्भरताका लागि सुझाव संकलन गरिने कार्यदलका संयोजक पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । 

लुम्बिनी प्रदेशका सबै अस्पतालबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार तथा आत्मनिर्भरताका लागि सरोकारवाला निकायसँगको भेटघाट, अन्तरक्रिया, अस्पतालको अवलोकन गरिने उनले बताए । गठित कार्यदलले पाल्पा अस्पतालको सेवा प्रवाहका साथै गुणस्तर सुधारका लागि सुझाव लिएको छ । 

टोलीमा पूर्वमन्त्री पन्थीसँगै पूर्वमन्त्रीहरू राजु खनाल, दीपेन्द्र पुन, स्वास्थ्य विज्ञ विनोद गिरी, स्वास्थ्य मन्त्रालयका नर्सिङ प्रशासक ईश्वरी केसी लगायतको टोलीले सरकारी अस्पताललाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषयमा सुझाव लिँदै हिँडेका हुन् । 

पाल्पा अस्पतालको अनुगमन गर्दै अस्पतालको कार्य सञ्चालनमा कसरी मितव्ययिता ल्याउन सकिन्छ र भएका स्रोतको कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ । पाल्पाका प्रतिनिधिसभा सदस्य, लुम्बिनी प्रदेशसभा सदस्यका साथै राजनीतिक दल र सरोकारवालासँग सुझाव लिएको छ । 

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेय र मेडिकल सुपरिटेन्डेन्ट डा. रामेश्वर देवकोटाले अस्पतालको भवन अभाव, सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सक, बजेट, बिमा समस्या लगायतका विषयमा जानकारी गराए । टोलीका सदस्य पूर्वमन्त्री खनालले प्राप्त सुझावलाई लुम्बिनी प्रदेश सरकारसमक्ष पेस गरिने बताए । 

प्राप्त सुझावले अस्पताललाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । १२ वटै जिल्लाका १४ वटा अस्पतालमा पुगेर समितिका पदाधिकारी, कर्मचारी, राजनीतिक दल, नागरिक समाजसँग सुझाव संकलन गरिने पूर्वमन्त्री दीपेन्द पुनले बताए । आएका सुझाव प्रदेश सरकारलाई बुझाउने र  आगामी बजेटमा प्राप्त सुझावका आधारमा विनियोजनका लागि दबाब पनि हुने उनले बताए ।  लुम्बिनी प्रदेश विकास समस्या र समाधानका बारेमा प्रदेश सरकारले विशेष योजना बनाएर अगाडि बढेको छ । सोहीअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि यो समितिले काम अघि बढाएको हो । 

पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले सबै जिल्लाबाट आउने सुझावलाई संघीय सरकारलाई उपलब्ध गराउन आग्रह गरे । तीन तहकै सरकार मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए । ‘खटाएको कर्मचारी तोकिएको समयावधिभर बस्नै पर्ने र इमानदारीपूर्वक काम गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्छ,’ उनले भने, ‘त्यसो भयो भने मात्र सेवाग्राहीले अनुभूत गर्ने गरी सेवा प्रवाह हुन्छ ।’ 

Identifying the problems of 12 district and provincial hospitals of Lumbini provinceतीन तहका सरकारले केन्द्रीकृत मानसिकता त्याग्नुपर्ने लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले बताए । प्राप्त बजेट र उपलब्ध जनशक्तिबाट अस्पतालहरूले उपचार सेवालाई गुणस्तरीय बनाउनुपर्ने प्रदेश सांसद इन्द्रा गहतराजको सुझाव छ । प्रदेशले आफ्नै नीति नियम बनाएर कानुनी रूपमा सहज बनाउने गरी ऐन, नियम बनाउनुपर्ने कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले बताए । लुम्बिनी प्रदेश सरकारले संघीय नभई आफ्नै नीति नियमानुसार जमिनको मापदण्डअनुसार भवन बनाउन पाउने नीति बनाउनुपर्ने एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले बताए । सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने माओवादी केन्द्रका सचिव मथुरा ढकालले बताए । 

राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले संघीय मन्त्रालयबीचको लडाइँले अस्पताल भवन बनाउन आएको बजेट हरेक वर्ष फिर्ता हुने गरेकाले प्रदेश सरकार आफैले मापदण्ड बनाउन सुझाए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले गुणस्तरीय सेवा प्रवाहका लागि भवन निर्माणका लागि जग्गाको विषय छिटो टुंगो लगाउन आग्रह गरे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले विपन्न समुदायले उपचार गर्न जाने अस्पतालमा सेवा प्रवाहमा कर्मचारीले लापरबाही गर्न नहुने सुझाव दिए । 

पाल्पा अस्पताल राणाकालीन समयमा बुटवलमा फैलिरहने हैजा रोक्नको लागि शिवराज अस्पताल बहादुरगन्ज, पृथ्वीवीर अस्पताल परासी र पछि भीम अस्पताल भैरहवा जस्तै पृथ्वीचन्द्र अस्पतालका रूपमा पाल्पाको तानसेनमा सुरु भएको हो । राजा पृथ्वीवीर र प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सुरु भएको र भवनको माथि पीसीएच अर्थात् पृथ्वीचन्द्र अस्पताल रहेको छ । अस्पतालको लागि ७ रोपनी जमिन र त्यसमा खानेपानीको लागि टंकी र करुवाको लागि घरको पनि व्यवस्था भएको छ । 

भवन कहिले बन्यो, कहिले थपियो यसमा प्रयोग भएको निर्माण सामाग्रीबाट अनुमान गर्न सकिने अस्पतालका अध्यक्ष आत्रेयले बताए । आर्थिक वर्ष २०७७/७८ मा यस अस्पताललाई लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरेको थियो । आर्थिक वर्ष २०८१/८२ को दरबन्दी संरचनाअनुसार ६४ जना कर्मचारीको दरबन्दी रहेको छ ।

अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालय तथा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट पर्याप्त आपूर्ति नहुँदा समस्या खेप्नु परेको छ । प्रदेश आपूर्तिबाट माग भए बमोजिमको औषधि आपूर्ति नभई आफ्नो  उपलब्धता र अनुकूलताअनुसार पठाउने समस्या छ । औषधि खरिदका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट बजेट विनियोजन नहुने मेडिकल सुपरिटेन्डेन्ट देवकोटाले गुनासो राखे । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully