पाल्पाका जंगलमा पाँच दिनदेखि भीषण डढेलो

चैत्र २३, २०८१

माधव अर्याल

Fierce fire in Palpa forest for five days

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्साको खुलखुले सामुदायिक वनको जंगलमा लागेको डढेलो पाँच दिनदेखि नियन्त्रणमा आउन सकेको छैन । बस्ती नजिक आएको डढेलो उपभोक्ताले निभाउने गरे पनि जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन नसकेको हो । झुम्साकै बसन्तपुर नजिक ओढारखोला सरागखोलामा डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

तिनाउ गाउँपालिका–१, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वनमा लागेको डढेलो पनि चार दिनदेखि नियन्त्रणमा आएको छैन । झिँगामारा, रिङ्सिंङ् जंगलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छैन ।

तिनाउ गाउँपालिका–२, दोभानमा पूर्ववडाध्यक्ष राजेश श्रेष्ठका अनुसार दोभानको सुकेताल र खुर्साने नजिकैको जंगलमा डढेलो नियन्त्रणमा आएको छैन । ‘गाउँ नजिक आएको डढेलो उपभोक्ताले निभाउने गरेका छन्,’ उनले भने, ‘जंगलको डढेलो निभाउन सकिने अवस्था छैन ।’ डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार रुपन्देहीतर्फको चुरेक्षेत्रबाट लागेको डढेलोले गर्दा पाल्पा क्षेत्रका जंगलमा डढेलो सल्केको छ । 

तिनाउ गाउँपालिकाको–५, मस्याम क्षेत्रको पाताल नजिकैको गाउँमा पनि भीषण डढेलो लागेको स्थानीय बासिन्दाले बताएका छन् । पाल्पाकै रम्भा गाउँपालिका अन्तर्गत पर्ने रिमिघा डाँडा जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । रम्भा गाउँपालिका–३, पिपलडाँडाको गरुङ्गादेखि रिमिघा जाने बाटोमा विद्युत् लाईन सर्ट भएर सुरु भएको डढेलो हावा र भीर पाखा भएकाले नियन्त्रण्मा आउन नसकेको फोक्सिङकोटका वडाध्यक्ष चेतबहादुर सुनारीले बताए । 

Fierce fire in Palpa forest for five days

झरेक वन नजिकै रिमिघा लेकमा विस्तार गरिएको विद्युत् लाइन सट भई तीन दिन अघि डढेलो लागेको वन रक्षक शिव थापाले जानकारी दिए । स्थानीयका अनुसार गरुङ्गा र कुवादी गाउँका बासिन्दाले डढेलो नियन्त्रण लिन प्रयास गरेका थिए । बस्तीतर्फ आउन नदिएको तर जंगलमा पुगेर निभाउन समस्या भएको वन रक्षक थापाले बताए । डढेलो नियन्त्रण गर्न ठूलो जंगल र भीरपाखा भएकाले समस्या आएको वडाध्यक्ष सुनारीले जानकारी दिए । डढेलो लागेको जंगल क्षेत्रमा फोक्सिङकोट फोक्सिङडाँडा र पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वनका गरी १ सय ५० हेक्टर बढी पर्छ ।  

पाल्पाकै रिब्दीकोट गाउँपालिका पालुङ मैनादी–७, काचाँदीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगरको जलेर मृत्यु भएको छ । पालुङ सामुदायिक वनको जंगल क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा सर्तुङ्गेको मृत्यु भएको हो । 

यी केही उदाहरण मात्र हुन् । जिल्लाका १५ बढी सामुदायिक वनमा केही दिनयता डढेलो लागिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो निभाउने प्रयास भने कहीँकतै भएको पाइएको छैन । तिनाउ गाउँपालिका–२, की देवकला विकले निभाउने प्रयास गरे पनि हावाहुरीले गर्दा नियन्त्रणमा लिन समस्या भएको छ । डिभिजन वन कार्यालयका अनुसार रैनादेवी छहरा–७, बल्ढेङगढीको लग्दुवापानी सामुदायिक वनमा केही दिनयता लागेको डढेलो नियन्त्रण आएको छैन । 

निस्दीको ज्यामिरेस्थित अरुणखोलाको वारिपारिको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । चार दिनयता डढेलो लागिरहेको छ । बस्ती नजिक पुगे मात्र निभाउने गरेका छन् । कतिपयले खरबारीमा लगाउने डढेलो पनि जंगलमा हावाले फैलाउने गरेको छ । निस्दी गाउँपालिकाको ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क लगायत सात स्थानमा डढेलो लागिरहेको छ । राष्ट्रिय तथा सामुदायिक वन डढेलोले सखाप पारेपनि निभाउने प्रयास भएको छैन । माथागढीको रहवास, हात्तीलुङ लगायतका स्थानमा पनि डढेलो लागेको छ । 

Fierce fire in Palpa forest for five days

पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडा वन डढेलोको उच्च जोखिममा छ । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको छ । जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेल्चेक्राइँका कारण लाग्ने गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । 

गतवर्ष मात्र ४ सय बढी स्थानमा डढेलोको घटना भएका थिए । जसबाट मानवीय क्षति नभए पनि ४० बढी घर तथा गोठ जलेको थियो । डिभिजन वन कार्यालयले सदरमुकाममा मात्र नभई ग्रामीण भेगमासमेत अग्निरेखा निर्माण, प्रचारप्रसार, सचेतना अभियान सञ्चालन गरेको जनाएको छ । अभियान अन्तर्गत गाउँका प्रहरी चौकी, इलाका वन कार्यालयले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने गरेको डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले बताए । जिल्लाका ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully