कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै तिलोत्तमाको वनवाटिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित

उपाध्यक्ष र कोषाध्यक्ष कांग्रेस र एमालेबाट निर्वाचित, सचिवमा भने स्वतन्त्र उम्मेदवार विजयी

चैत्र २३, २०८१

घनश्याम गौतम

Defeating the Congress-UML alliance, an independent candidate was elected in Vanwatika of Tilottama

बुटवल — तिलोत्तमा नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)को आगामी ४ वर्षे नेतृत्वमा कांग्रेस एमालेको गठबन्धनलाई हराउँदै अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

७ सय ७५ मतदाता रहेको वनवाटिकाको शुक्रबार भएको निर्वाचनमा ६ सय ६१ मत खसेको थियो । खसेको मतमध्ये ३ सय ६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डे विजयी भएका हुन् । नेकपा माओवादीको नेत्रविक्रम चन्दनिकट रहेका उनी स्वतन्त्रबाट निर्वाचनमा प्रतिस्पर्धामा थिए । उनका प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धनबाट इन्जिनियर किरण खरेलले २ सय ३४ मत ल्याएका थिए । खरेल एमाले निकट हुन् । 

त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका मिनप्रसाद देवकोटा ३ सय ७८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्रका लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत ल्याए । सचिवमा स्वतन्त्रका विदुर केसीले ३ सय ७९ मत ल्याएर विजयी भए । सचिवका प्रतिस्पर्धी हरिकला अधिकारीले १ सय ८८ र हिरामती थापाले ५७ मत ल्याइन् । त्यस्तै, कोषाध्यक्षमा गठबन्धनकै मनिराम भट्टराईले ३ सय ८५ मत ल्याएर निर्वाचित भएका छन् । स्वतन्त्रका सौरभ भुसालले १ सय ७५ र उदयसिंह थापाले ६३ मत ल्याएका थिए । 

दुई जना लेखा समिति सदस्यका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये सन्दिप भट्टराईले ३१३ र विष्णुप्रसाद सुवेदी २११ मत ल्याएर विजयी भए । त्यस्तै, सदस्यहरुमा विन्दु टकाल ३१२, शंकर भण्डारी २९७, पार्वती क्षेत्री २८३, सरस्वती बराल २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्ल ११२ मत ल्याएर विजयी भएको निर्वाचन समिति संयोजक मोहन चापागाईंले बताए ।

वनवाटिका पार्कमा वार्षिक चार लाखभन्दा बढी पर्यटकहरू अवलोकनका लागि आउने गरेका छन् । दैनिक ३२ जना कर्मचारीले रोजगारी पाएका छन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully