नेपालगन्ज — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिस्थिति बिग्रिएकाले जनताका कुरा सुन्न नयाँ स्वरुपमा जनतासँग सम्बन्ध बनाउन जागरण अभियान सुरु गरिएको बताएका छन् । उनले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पुनः थालिएको बताए ।
बिहीबार नेपालगन्जमा अभियान अन्तर्गत माओवादी केन्द्र बाँकेले आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले विगतमा कार्यकर्ताको रिपोर्टिङ तथा केन्द्रीकृत डेलिभरीले अविश्वास सिर्जना गरेपछि जनताको भावना बुझ्न भूगोलमै पार्टी नेतृत्व आफैं पुगेको सुनाए ।
‘विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परिएको हो । अब सिधैं जनताका कुरा सुन्न आएका हौं,' उनले भने, 'विगतमा गल्ती भएकै हो तर अब हामी सच्चिन तयार छौं । तपाईंहरुले पनि त्यसै अनुरुप हामीलाई स्वीकार गर्नुहोस् ।'
राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको समेत बताए ।
माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक अन्तरसंवाद कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा माओवादी उपाध्यक्षत्रय नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महरा, महासचिव देव गुरुङलगायत केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो ।
यसैबीच प्रेस सेन्टर, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री अध्यक्ष दाहालले २०८४ सम्म प्रधानमन्त्रीको दौडमा नभएको स्पष्ट पारे ।
‘म अहिले जनताको भावना चाहना बुझ्ने अभियानमा छु,’ उनले भने, ‘प्रधानमन्त्रीको दौडमा छैन ।’
उनले सरकारको गैरजिम्मेवारी क्रियाकलापका कारण जनतामा निराशा छाएको र बिचौलियाले टाउको उठाउने अवसर पाएको जिकिर गरे । अध्यक्ष दाहालले संविधान बनाउँदादेखि नै गणतन्त्र मन नपराएकाहरुले अहिले टाउको उठाउने कोसिस गरेको बताए । ‘राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले सालिन तरिकाले जवाफ दियौं’, उनले भने,‘प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतिकार गयौं ।’
