रिमिघाको डढेलो अझै नियन्त्रणमा आएन
पाल्पा — डढेलो निभाउने क्रममा पाल्पाको रिब्दीकोट गाउँपालिका पालुङ मैनादी–७, का चाँदीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गे मगरको जलेर मृत्यु भएको छ । पालुङ सामुदायिक वनको जंगल क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा सर्तुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए ।
जंगल क्षेत्रमा भीर रहेको र डढेलो निभाउने क्रममा आगोको लप्काले भेटेको र लडेर जलेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान भइरहेको छ । वडा सदस्य रामबहादुर रानाका अनुसार डढेलो तीन दिनदेखि लागिरहेको छ । सुख्खामौसम र हावाहुरीले गर्दा डढेलो नियन्त्रणमा लिन नसकिएको उनले बताए । दैनिक २ सयभन्दा बढी स्थानीय उपभोक्ता डढेलो निभाउन गए पनि हावाहुरी र आगोको लप्का फैलिएकाले निभाउन नसकिएको हो ।
जंगल तथा झाडीका साथै खरबारीमा डढेलो लाग्दा स्थानीय कोर्तुङका धनबहादुर रानाको गोठ जलेको छ । ‘हावाहुरीले आगोको लप्का एक्कासि आएपछि भाग्न नसक्दा घटना घटेको हो,’ वडा सदस्य रानाले भने, ‘नियन्त्रणमा लिने प्रयास गरिएको छ तर पनि हावाहुरीले पुनः लाग्ने गरेको छ ।’
उता, पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत पर्ने रिमिघा डाँडा जंगलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । रम्भा गाउँपालिका–३, पिपलडाँडाको गरुङ्गादेखि रिमिघा जाने बाटोमा विद्युत् लाइन सर्ट भएर सुरु भएको डढेलो हावा र भीर पाखा भएकाले नियन्त्रणमा आउन नसकेको थियो ।
झरेक वन नजिकै रिमिघा लेकमा विस्तार गरिएको विद्युत् लाइन सर्ट भइ तीन दिनअघि डढेलो लागेको वनरक्षक शिव थापाले जानकारी दिए । स्थानीयका अनुसार गरुङ्गा र कुवादी गाउँका बासिन्दाले डढेलो नियन्त्रण लिन प्रयास गरेका थिए । बस्तीतर्फ आउन नदिएको तर जंगलमा पुगेर निभाउन समस्या भएको वन रक्षक थापाले बताए ।
डढेलो नियन्त्रण गर्न ठूलो जंगल र भीरपाखा भएकाले समस्या आएको वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिए । डढेलो लागेको जंगल क्षेत्रमा फोक्सिङकोट फोक्सिङडाँडा र पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वनका गरी १ सय ५० हेक्टर बढी पर्छ ।
