दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिमा कम्पनीहरूले जनताको विश्वास आर्जन गर्न जरुरी रहेको बताएका छन्।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले शुक्रबार देउखुरीमा आयोजना गरेको ‘प्रदेश सरकार र सरकारी निकायसँग निर्जीव बिमासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिमाप्रति नागरिकको विश्वास बढाउने गरी बिमा कम्पनीहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए।
'बिमाप्रति आम जनताको सकारात्मक धारणा बन्न सकेको छैन। बिमा दाबी भुक्तानीमा ढिला–सुस्ती हुनु हुँदैन। दायित्व भुक्तानीलाई सहज बनाउनुपर्छ,' मुख्यमन्त्री आचार्यले भने। 'प्रदेश सरकारले पशुपंक्षीको बिमा गरेको छ। तर, लम्पी स्किन महामारीका कारण किसानले बिमा रकम पाउन सकेनन्। यसले गर्दा विश्वास आर्जन गर्न सकिएको छैन।'
राष्ट्रिय बिमा कम्पनी लिमिटेडका बजार व्यवस्थापन विभाग प्रमुख हिरा कुमारी वर्तौलाले बिमालाई खर्चको रूपमा मात्रै नभई जोखिम व्यवस्थापनको आधारका रूपमा हेर्नुपर्ने बताए। उनले निर्जीव बिमामार्फत जनधनको सम्भावित आर्थिक जोखिममा वित्तीय सुरक्षा प्रदान गर्ने, आन्तरिक स्रोत र साधनको परिचालन गरी देशको आर्थिक विकासमा टेवा पु-याउने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य रहेको स्पष्ट पारे।
कार्यक्रममा नीतिगत रूपमा घर, सम्पत्ति तथा व्यवसायको अनिवार्य बिमा गर्ने व्यवस्था गरियो भने जोखिम घटाउन सकिने र सहर तथा सहरोन्मुख क्षेत्रका आवासीय घरहरूलाई अनिवार्य बिमाको दायरामा ल्याउनुपर्ने कुरामा समेत जोड दिइएको थियो।
राज्यकोषमाथिको आर्थिक भार न्यूनिकरण गर्न, नेपाल भूकम्पीय र प्राकृतिक विपद्को उच्च जोखिमयुक्त भूगोल भएको देश भएकाले जनमुखी र प्रत्यक्ष लाभ प्राप्त हुने कार्यक्रममार्फत राज्यको उपस्थिति महसुस गराउन तथा नागरिकको आर्थिक स्तर खस्कन नदिन बिमा गर्नुपर्नेमा जोड दिइएको छ।
लुम्बिनी प्रदेशमा जोखिमको संवेदनशीलता रहेको उल्लेख गर्दै सामूहिक दुर्घटना बिमा, सम्पत्ति बिमा, कृषि, बाली, पशुपंक्षी, जडिबुटी, विद्यार्थी सुरक्षा बिमालगायतका क्षेत्रमा बिमा गर्न सकिने सुझाव दिइएको छ। सामाजिक सुरक्षालाई बिमाले बलियो बनाउने कुरामा पनि जोड दिइएको छ।
सर्वसाधारणको घर तथा सम्पत्तिको बिमा, बाढी र भूकम्पबाट सुरक्षाका लागि सामूहिक सम्पत्ति बिमा गर्न सकिने सुझाव कार्यक्रममार्फत प्रस्तुत गरिएको थियो।
प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले राज्यले गर्ने अनिवार्य बिमाहरूलाई राष्ट्रिय बिमा कम्पनीसँग जोड्न जरुरी रहेको बताए।
राष्ट्रिय बिमा बोर्डका सदस्य प्रकाशकुमार अधिकारीले बिमाले नागरिकलाई सुरक्षा प्रदान गर्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ स्थान दिनुपर्ने सुझाव दिए।
