परासी — ऐतिहासिक तथा पुरातात्विक स्थल पण्डितपुरमा पुरातत्व विभागले दोस्रो चरणको उत्खनन सुरु गरेको छ । यसअघि मङ्सिरमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षण (जिओ फिजिक्स सर्वे) मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा उत्खनन गरेको थियो ।
एक महिनासम्म गरिएको उत्खननमा महत्वपूर्ण संरचना र पुरातत्व वस्तु फेला परेपछि दोस्रो चरणको उत्खनन सुरु गरेको हो ।
बजेट थोरै भएकाले एक महिनासम्म मात्र उत्खनन गरेको विभागले अहिले लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाले १५ लाख रकम विनियोजन गरेपछि उत्खननलाई निरन्तरता दिएको हो । मसिंरमा गरिएको उत्खननमा जमिनमुनि गोलाकार आकारमा रहेको ठूलो संरचना फेला परेको थियो । जियो फिजिक्स सर्वेले देखाएको महत्वपूर्ण क्षेत्रमा उत्खनन सुरु गरिएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताए ।
यो क्षेत्रमा भेटिएको वस्तुको वैज्ञानिक परीक्षणमा छैटौं शताब्दीको संरचना भेटिएकाले पण्डितपुर महत्वपूर्ण पुरातात्विक स्थल भएको पुष्टि भएको छ । पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलको रुपमा दाबी गरिदै आएको छ ।
बौद्धकालदेखि मुस्लिम (मुगल) समुदायको बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको छ । जसमा छैटौं शताब्दीका संरचना भेटिएकाले यो निकै प्राचीन बस्ती भएको पुरातत्व विभागको निष्कर्ष छ । ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुरमा विस्तृत उत्खनन गरेर आवश्यक अनुसन्धान गर्न रामग्राम नगरपालिका र स्थानीयले माग गर्दै आएका छन् ।
