बुटवल–गोरुसिंगे सडक विस्तारको काम तीव्र

पैदलयात्रुका लागि बाटो काट्न १२ वटा अन्डर पास र ११ वटा आकाशे पुल निर्माण हुने

चैत्र २०, २०८१

घनश्याम गौतम

Butwal-Gorusinge road expansion work is accelerated

बुटवल — पूर्व–पश्चिम राजमार्गको बुटवलदेखि गोरुसिंगेसम्मको सडक विस्तारको काम तीव्र पारिएको छ । सडकको माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा र उपप्रधानमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेलले भौतिक रुपमै उपस्थित भएर शिलान्यास गरेका थिए । सडक विस्तारका लागि सडक किनारका रुख काट्ने काम सकिएको छ । कपिलवस्तु खण्डका केही विद्युत्‌का पोल सार्ने काम पनि अन्तिम चरणमा पुगेको र १० स्थानमा पुल निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

सडक परियोजना कार्यालयकी इन्जिनियर कुलशता न्यौपानको अनुसार पहिलो चरण अन्तर्गत काम भइरहेको रुपन्देही क्षेत्रमा पर्ने ३० किलोमिटर र कपिलवस्तु क्षेत्रमा पर्ने २० किलोमिटर खण्डमध्ये रुपन्देहीतर्फ ६ वटा र कपिलवस्तु खण्डमा ४ वटा पुल निर्माणको काम धमाधम अघि बढेको छ ।

‘रुपन्देही खण्डको रुख कटान र विद्युत्‌का पोल हटाउने काम ९५ प्रतिशत सकिएको छ । तर, कपिलवस्तु क्षेत्रका केही विद्युत्‌का पोल हटाउने काम बाँकी छ,’ उनले भनिन्, ‘त्यसलगत्तै रिटनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तुरुन्तै सुरु हुन्छ ।’

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सडक विस्तारका लागि सम्झौता भएको छ । परियोजनाले कपिलस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम सुरु गरेको थियो ।

Butwal-Gorusinge road expansion work is accelerated

फिल्ड कार्यालयका अनुसार अहिले पहिलो चरण अन्तर्गतको काम भइरहेको हो । जसअनुसार रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार गरिनेछ । अर्को १९ किलोमिटर दुरीको गोरुसिंगे–चन्द्रौटा खण्डमा दोस्रो चरण अन्तर्गत काम गरिने इन्जिनियर न्यौपानेले बताइन् । उनका अनुसार सडक विस्तारका क्रममा रुपन्देही खण्डमा २०  र कपिलवस्तु खण्डमा १० वटा गरी ३० वटा पुल निर्माण हुनेछन् । सडक विस्तार कार्यका लागि निर्माण कम्पनीसँग असारमा ठेक्का सम्झौता भएको थियो, तर सम्झौता कात्तिक ४ गतेबाट लागु भएको कार्यालयले जनाएको छ । 

निर्माण कम्पनीले पुसको अन्तिम सातादेखि काम सुरु गरेको थियो । अहिलेसम्म निर्माण कम्पनीले सम्झौताको १५ प्रतिशत रकम भुक्तानी लिएको सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए । ‘मोभिलाइजेसन खर्च १० प्रतिशत र परियोजना कार्यालयबाट सम्झौता बापत ५ प्रतिशत गरी हालसम्म १५ प्रतिशत रकम भुक्तानी भएको छ,’ उनले भने, ‘अबको भुक्तानी कामको प्रगतीका आधारमा हुनेछ ।’

सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्ला गरी कुल ७ हजार १ सय ११ वटा रुख कटान हुनेछन् । तीमध्ये करिब ३ सय रुख मात्र काट्न बाँकी रहेको कपिलवस्तुका साइट इन्जिनियर जिगेशप्रसाद चौधरीले बताए । उनका अनुसार ५० किलोमिटर सडक अन्तर्गत ६ वटा भिओपी अन्डरपास हुनेछन् । चार लेनको बाटो सिधा जाने र सर्भिस लेनको सडकमार्फत् अन्डर पासबाट ओहोरदोहोर हुने उनले बताए । बुटवलको बेलबास, नयाँगाउँ, तामनगर चोकमा यस्ता अण्डरपास बन्नेछन्,’ उनले भने, ‘त्यस्तै सैनामैनाको मुर्गिया, कपिलवस्तुको चार नम्बरमा पनि अन्डरपास निर्माण हुनेछन् ।’ पैदलयात्रुका लागि बाटो काट्न १२ वटा अन्डर पास र ११ वटा आकाशे पुल निर्माण हुने उनले बताए । 

Butwal-Gorusinge road expansion work is accelerated

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा धुलो उडेर स्थानीयवासी र यात्रुलाई सास्ती भएको घटनाबाट पाठ सिकेर बुटवल गोरुसिंगे सडक भत्काउन हतार नगर्न उपभोक्ता र सरोकारवालाले निर्माण व्यवसायीलाई दबाब दिइरहेका छन् । कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थीले सडक विस्तारका लागि आवश्यक सबै प्रक्रियागत काम सकेरमात्र पुरानो सडक भत्काउन अनुरोध गरिएको उनले बताए ।

‘हामीले सडक भत्काएपछि तत्काल बनाउन मिल्ने गरी मात्र भत्काउन दबाब दिइरहेका छौं, निर्माण व्यवसायीले पनि त्यही अनुसार काम गरिरहेका छन्,’ उनले भने, ‘सडक किनारका नागरिक र यात्रुको सहज यात्राका लागि हाम्रो दबाब निरन्तर छ ।’

निर्माण व्यवसायीले तीव्र रुपमा काम गरिरहेकाले यात्रुलाई सास्ती नहुने विश्वास गरिएको उनले बताए । ‘काम त यति तीव्र गरेको छ कि आज देखिएको अवस्था भोलि त्यही सडकमा यात्रा गर्दा देखिँदैन,’ उनले भने, ‘धेरै फेरिसकेको हुन्छ ।’ यस्तै, गतिमा काम गर्न आफूहरुले दबाब र सुझाव दिइरहेको उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully