दाङ — संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सत्तारूढ एमालेले सोमबार तुलसीपुरमा प्रदर्शन गरेको छ । राजावादीहरू सलबलाएको र गणतन्त्रविरूद्ध धावा बोलेको भन्दै एमालेले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो ।
एमाले पार्टी कार्यालयबाट सुरु र्याली बजार परिक्रमा गरी बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरूलाल चौधरीले गणतन्त्रलाई संस्थागत रूपमा विकास गर्न सबै सचेत नागरिकको भूमिका रहेको बताए । राजतन्त्रको औचित्य समाप्त भइसकेका बेला फेरि राजाले शासक बन्ने सपना देख्नु व्यवस्थाविरोधी कार्य भएको उनले बताए ।
