काठमाडौँ — रोल्पाको दुर्गम गाउँ लुंग्री गाउँपालिकाको किलाचौरमा आयोजित नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ४० जनाले सेवा लिएका छन्। शनिबार सम्पन्न शिविरमा विभिन्न विषयका १० जना चिकित्सकको उपस्तिथि रहेको थियो।
लुंग्री गाउँपालिका, लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बुटवल, रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा नि:शुल्क विशेषज्ञ शिविर आयोजना गरिएको थियो। लामो समयदेखि जिल्लामा सामाजिक सचेतता विस्तार र स्वास्थ्य शिविर आयोजना गर्न सघाउँदै आएका युवाद्वारा संचालित सत्प्रयास समूह रोल्पाको समन्वयमा शिविर आयोजना भएको हो।
विकासको दृष्टिकोणमा पछि पारिएको पूर्वी रोल्पाको लुंग्री गाउँपालिकाको वडा नम्बर ५ को किलाचौरस्थित बराहक्षेत्र माविमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा दाँतसम्बन्धी १ सय ११ जना, दाँत उखेलिएको ९८ जना, भिडियो एक्सरे २ सय ६० जना, हाडजोर्नी समस्याका २ सय ८७ जना, स्त्रीरोग सम्बन्धी १ सय १५ जना र जनरल फिजिसियन सेवाबाट २ सय १० जनाले सुविधा लिएका छन्।
शिविरमा नसर्ने रोगका ५ सय ४ जनाले सेवा लिएका छन्। ५ जनाको सामान्य अप्रेसन भएको छ भने फिजियो थेरापी सेवामा १४ जनाले सेवा पाएका छन्। बिरामीमध्ये ४ जनालाई एमआरआई गर्न सुझाइएको थियो। उच्च रक्त चापका ६३ जना र चिनीरोग भएका १६ जनाले उपचार पाएका थिए।
