बाघको आक्रमण : बर्दियामा ५ वर्षमा ३६ जनाको मृत्यु

चैत्र १८, २०८१

रामप्रसाद चौहान 

Tiger attack: 36 people died in Bardia in 5 years

बर्दिया — जिल्लामा पाँच वर्षयता बाघको आक्रमणबाट ३६ जनाको ज्यान गएको छ। विगत पाँच वर्षयता वन क्षेत्रमा १२ र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २४ गरी ३६ जनाको बाघको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।

गत माघ २५ गते मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षीया जुना कुमारी लामिछानेको खेतमा काम गरिरहेको अवस्थामा बाघले आक्रमण गरी ज्यान लिएको थियो।

त्यसैगरी गत फागुन ३ गते साँझ करिब ७ बजे मधुवन नगरपालिका–७ भाट चोकस्थित मामा घरमा पाहुना आएका राप्ती सोनारी गाउँपालिका–५ का २ वर्षीय रिहान चलाउनेलाई बाघले आँगनबाट लगेको थियो। गत शनिबार मधुवन नगरपालिका–४ गमक्कास्थित आँगनमा खेलिरहेका चार वर्षीय बालक शिवम थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो।

२०७७/२०७८ देखि चालु आर्थिक वर्षको फागुनसम्म वन्यजन्तुको आक्रमणबाट ५३ जनाको मृत्यु भएको तथ्यांक छ । जसमध्ये बाघको आक्रमण ज्यान गुमाउनेको संख्या ३६ देखिन्छ भने हात्ती ११, बाघ ५ र गैंडाको आक्रमणबाट १ जनाको ज्यान गएको छ ।

वन र निकुञ्जको तथ्यांक अनुसार २० वटा घटना वन क्षेत्र र ३३ घटना निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा भएका छन् । पछिल्लो पटक गरिएको बाघ गणनाले बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १ सय २५ छ । त्यसैगरी बाघको संख्या पनि बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरी बताउँछन् ।

गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीबाट गत साता बाघले ७ वटा कुकुरका छाउरा लगेको स्थानीय उर्मिला गुप्ताले बताइन् । ‘बस्तीमा बाघ पल्केपछि स्थानीय त्रसित भएका छन्,’ उनले थपिन्, ‘साना बालबालिकालाई जोगाउन मुस्किल भइसक्यो ।’

निकुञ्ज र अन्य वनबाट निस्कने बाघ, बाघलगायत वन्यजन्तुले घरपालुवा चौपाया तथा मानवलाई निरन्तर आक्रमण गर्दा सर्वसाधारण त्रसित बनेको मधुवन नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्र हमालले बताए । ‘वन्यजन्तुलाई बस्ती पस्न नदिन सुरक्षाकर्मीले राति गस्ती गर्छन्,’ उनले भने,‘उहाँहरू सघाउन हामी स्थानीयले पनि बीचबीचमा गस्ती गर्छौं ।’

२०७७/७८ मा बाघको आक्रमणबाट ७, ०७८/०७९ मा बाघको आक्रमणबाट २, हात्तीको आक्रमणबाट २ र बाघको आक्रमणबाट एक जनाको वन क्षेत्रमा ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । उनका अनुसार ०७९/०८० बाघ र बाघको आक्रमणबाट ज्यान गएका कुनै घटना भएका छैनन् । ०८०/०८१ मा बाघको आक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् ।

उनका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म गैंडाको आक्रमणबाट १, बाघको आक्रमणबाट २ र हात्तीको आक्रमणबाट १ जना गरी निकुञ्जबाहेकको वन क्षेत्रमा ४ जनाको मत्यु भएको सूचना अधिकारी चौधरीले जनाए । ‘पछिल्लो समय बाघ र बाघको संख्या बढेको छ,’ उनले भने, ‘मानव बस्ती पनि वन क्षेत्रमा विस्तार भएका छन्, वनबाटै बाटो बनेका छन् ।’

वन क्षेत्रमा मानवीय चहलपहल बढ्दा बाघको आक्रमणको घटना पनि बढेका उनले बताए। आहाराको अभावले पनि वन्यजन्तुहरू मानवबस्ती नजिक आउन थालेका अधिकारीहरूको भनाइ छ।

रामप्रसाद चौहान  रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully