चेपाङ बस्तीमा लालपूर्जाकै चिन्ता

चैत्र १७, २०८१

कमल पन्थी

Lalpurja's concern in Chepang Basti

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बबई नदी किनारको बाँसगढी नगरपालिका-१ स्थित चेपाङ बस्तीमा दशकयता विकासका पूर्वाधार पुगेका छन् । पहाडी क्षेत्रको रमणीय चेपाङ गाउँमा माध्यमिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी पुगेको छ ।

यो बस्ती हुँदै गएको सुर्खेत–नेपालगन्ज जोड्ने रत्न राजमार्गले बजारको रौनक उत्तिकै बढाएको छ । तर जग्गाधनीपूर्जा नपाउँदा आफूहरूका समस्या उस्तै रहेको स्थानीय टोपलाल वलीले बताए । कम्तीमा बस्तीमा लामो समयदेखि बसोबास गर्दै आएकालाई जग्गाधनीपूर्जा दिइनुपर्ने उनको दुःखेसो छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रको चेपाङ बस्तीमा २०७० वैशाख ३ गते आगलागीबाट बजारका १ सय २९ घरटहरा जलेका थिए । त्यसपछि यहाँ पक्की भवन बन्न सुरु भएको हो ।

अहिले बजारका धेरै संरचना पक्की छन् । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सुरु भएपछि यहाँको चहलपहल बढ्दै गएको हो । चेपाङमामा साना–ठूला ४० वटा होटल सञ्चालनमा छन् । बबईको माछा खान खोज्ने बाँके, बर्दिया, सुर्खेतबाट समेत आउने गरेका छन् । राजमार्गका अधिकांश यात्रु र पर्यटकले माछाका परिकारका लागि पनि एकटक यहाँ अडिन्छन् ।

बर्दिया निकुञ्ज विस्तार गर्दा २०४० सालमा साविक सानोश्री पञ्चायतका सबै बस्ती गुलरियासँग जोडिएको साविक ताराताल पञ्चायतको जंगलात क्षेत्रमा स्थान्तरण भयो । जंगलात क्षेत्र कटान गरी यहाँ बस्ती बसालिएको थियो । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने बाटुल्ले, कुरुल्ले, खोटे र भंगाहाको आवादी र जंगल क्षेत्र गरी २ हजार ३ सय २१ हेक्टर क्षेत्रफलमा चेपाङ गाउँ फैलिएको छ ।

Lalpurja's concern in Chepang Bastiवर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले सुकुम्बासी आयोगमा कैयौं पटक निवेदन दिए पनि जग्गाधनीपूर्जा नपाएको स्थानीय यमलाल शर्माले बताए । जग्गाधनीपूर्जा नहुँदा आफूहरूले जग्गा धितो तथा बैंकबाट कर्जा लिन नपाउँदा ठूलो व्यापार र व्यावसायिक पशुपालनमा लगानी गर्न नसकेको उनले गुनासो गरे । चेपाङ बस्तीमा ६ सय ७ घर पूर्जाविहीन रहेको लक्ष्मी मावि चेपाङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम जैसीले बताए । करिब २ हजार ५ सय जनसंख्या रहेको यो गाउँ बाँके, सुर्खेत र सल्यान जोड्ने सिमाना पनि हो । स्थानीय टंक खत्री सरकारले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा लगानी गर्नुपर्ने बताउँछन् ।

चेपाङका बासिन्दा नागरिकतालगायतका काम गर्नु परे २ घण्टा बस चढेर बाँसगढीस्थित इलाका प्रशासन कार्यालय आउनु पर्छ । यहाँबाट गम्भीर बिरामी भने ३० किलोमिटर दक्षिणको कोहलपुर जानुपर्छ । ज्यालामजदुरी, होटल, किराना पसल र खेतीपातीबाट जीविकोपार्जन गर्ने स्थानीयले नगरपालिकाको कार्यालय बाँसगढी पुग्न ५० र सदरमुकाम गुलरिया करिब ८० किलोमिटर यात्रा गर्नुपर्छ ।

बर्दिया बासगढी–१ चेपाङ बस्ती । तस्बिर : कमल पन्थी/कान्तिपुर

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully