ठेलामा जिलेबी बेचेरै जीविकोपार्जन

जिलेबी बेचेर मासिक २५ हजार रुपैयाँसम्म कमाइरहेका छन् सीता, शान्ता र राधा

चैत्र १७, २०८१

वीरेन्द्र केसी

Earning a living by selling jalebis in thela

अर्घाखाँची — एउटै ड्रेसमा तीन जना महिला । गाउँमा हाटबजार होस् वा मेला महोत्सव । विवाह र पुजापाठमा समेत ठेला लिएर जेरी पकाउन पुग्छन् उनीहरू। सफा कपडा र मेकअपमा सजिएर पकाउँदै गरेको जिलेबीले धेरैलाई लोभ्याउँछ। उनीहरू हुन् सन्धिखर्कका सीता पराजुली, शान्ता खड्का र राधा खनाल ।

सीता र शान्ताले सन्धिखर्कमा लागेको दोस्रो अर्घाखाँची महोत्सवमा जिलेबी पकाउन सुरु गरेका हुन्। राम्रो व्यापार भएपछि उनीहरू उत्साहित बनेँ। दोस्रोदेखि निरन्तरता दिएका उनीहरूले फागुन पुसदेखि माघ १२ गतेसम्म चलेको छैठौं महोत्सवसम्म ठेलामै जिलेबी पकाए ।

‘जिलेबी पकाउन मैले बुवाआमाबाट सानै उमेरमा सिकेकी थिएँ,’ सीताले भनिन्, ‘गाउँमा सानो पसल थियो, त्यहाँ बुवाआमाले जिलेबी पकाएर बेच्नुहुन्थ्यो । त्यही जिलेबी बेचेर मलाई पढाउनुभयो, अहिले मैले पनि यही काम गरेर छोराछोरी पठाएकी छु ।’

उनका दुई छोरा छन् । करिब ५ वर्षको अन्तरालमा उनीहरूको जिलेबीले सन्धिखर्कमा ब्राण्डकै रुप लिएको छ। बजार र गाउँमा हुने अधिकांश पुण्यकर्म र विवाह भोजमा उनीहरूले ठेलामा जिलेबी पकाएका हुन्छन् ।  सन्धिखर्कमा मंगलबार र शुक्रबार लाग्ने हाटबजारमा उनले जिलेबी पकाउँछन् । त्यहाँ जिलेबी किन्नेको भीडभाड लाग्छ ।

समान किसिमका आकर्षक पोशाकमा सजिएका उनीहरूले ठेलामा जिलेबी बनाउन गरेको मेहिनेत देखेर नखाने, नकिन्ने योजनामा रहेकाहरू पनि लोभिन्छन्, र घरमा हुनेहरूका लागि जिलेबी खरिद गर्छन्। रमिता हेर्नेहरू पनि उत्तिकै हुन्छन्।

बजारमा जिलेबी प्रतिकिलो ३ सय २० र एउटा पिसलाई २० रुपैयाँमा बिक्री हुन्छ । ‘सीता र मैले सल्लाह गर्‍यौं, सामान किन्यौँ र ठेलामा पकाएर बेच्यौं,’ शान्ताले भनिन्, ‘आजभन्दा छ वर्षअघिको कुरा हो । पहिले-पहिले  मैले जिलेबी पकाउने, सीताले बेच्ने गर्दा एक दिनमा लगानी उठाएर ५/५ सय रुपैयाँ नाफा भयो । हामी धेरै खुसी भयौं ।’ त्यसपछि हाटबजार र मेला लाग्दा सधैँ ठेला बोकेर जाने थालेका उनले बताइन्।

त्यसयता उनीहरूले मिलेर काम गर्दै आएका छन्। ‘हामी मैदा, चिनी र तेल संयुक्त किन्छौं,’ उनले भनिन्, ‘एक दिनमा दस/बाह्र हजारको लगानी गर्दा तीस/बत्तीस हजार कारोबार हुन्छ । महिनामा ७/८ दिन ठेलामा जिलेबी पकाउँदा एक जनालाई करिब २५ हजार रुपैयाँ जति कमाई हुन्छ ।’

सजिलो पनि हुने, धेरै लगानी र दुःख कम हुने पेशा भएको उनले बताइन् । यही कमाइले सीता र शान्ताले दुई/दुई जना छोराको पढाई र घरखर्च जुटाएका छन् । सदरमुकाम र गाउँमा विवाह, पुजापाठ, संघसंस्था, राजनीतिक दलका कार्यक्रम हुँदा आयोजकले सीता, शान्ता र राधालाई नै खोज्छन् ।

आयोजकले जिलेबी पकाउन निमन्त्रण गर्दा उनीहरूले पारिश्रमिक लिन्छन् । हाटबजार, मेला महोत्सवदेखि विवाह, पुजापाठ र संस्थाको कार्यक्रममा पनि ठेला बोकेरै पुग्छन् । राधाले कहिलेकाँही सीता र शान्तालाई सघाउँछिन् ।

‘घरमा टिकटक र मोवाइल हेरेर दिन कटाउनुभन्दा केही गरौं भन्ने भोक जाग्यो,’ शान्ताले भनिन्, ‘जिलेबी पकाउनुभन्दा पहिला विभिन्न सानातिना बिजनेस गरें । अहिले मिलेर व्यापार गर्दा जिलेबीले खुसी बनाइदियो।’ अहिले सहरदेखि गाउँसम्म जहाँ पनि उनीहरू पुग्छन् । भोजभतेर र कार्यक्रममा खानाका परिकारमा जिलेबी पनि थपिन्छ ।

खाना खाइसकेपछि पाहुनाले घर फर्किने बेलामा गुलियो मुख बनाएर फर्कन्छन् । धेरैले जिलेबी राम्रा र मिठो भन्दै प्रशंसा गर्छन् । ‘थोरै लगानीमा सानै उद्यम भएपनि हामी स्वतन्त्र छौं,’ सीताले भनिन्, ‘कोठाभित्र बस्नुभन्दा केही काम गरेपछि पैसा पनि हुन्छ, मन शान्त पनि हुन्छ । जिलेबीको आम्दानीले श्रीमानलाई घरधन्दामा सघाएका छौं ।’

उनीहरू ठेलामा जिलेबी पकाउँदै, बेच्दै गर्छन् । ‘यही पेशा नै हामीलाई रमाइलो लागेको छ,’ शान्ताले भनिन्, ‘काम गर्न सक्दासम्म गाउँ/सहर जहाँ पुगेर भएपनि जिलेबी बनाइरहन्छौं । हाम्रो पेशाको परिचय नै जिलेबी हो, खाएपछि मिठो र राम्रो भनिदिएपछि हामीलाई सन्तोष लाग्छ ।’ 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully