रोल्पा — रोल्पाको दुर्गम लुंग्री गाउँपालिकाको किलाचौरमा आयोजित नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा एक हजार ४० जनाले सेवा लिएका छन्। शनिबार सम्पन्न शिविरमा विभिन्न विषयका १० चिकित्सकले सेवा दिएका थिए ।
लुंग्री गाउँपालिका, लुम्बिनी सिटी अस्पताल एन्ड मेडिकल साइन्स प्रालि बुटवल, रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा नि:शुल्क विशेषज्ञ शिविर आयोजना गरिएको थियो । लामो समयदेखि जिल्लामा सामाजिक सचेतना विस्तार र स्वास्थ्य शिविर आयोजना गर्न सघाउँदै आएको युवाद्वारा सञ्चालित सत्प्रयास समूह रोल्पाको समन्वयमा शिविर आयोजना भएको हो ।
शिविरमा दाँतका १ सय ११ जना, दाँत उखेलिएका ९८, भिडियो एक्सरे गरिएका २ सय ६०, हाडजोर्नी समस्याका २ सय ८७, स्त्रीरोग सम्बन्धिका १ सय १५, जनरल फिजिसियन सेवा लिएका २ सय १०, ब्रेस्ट अंको सर्जरी (स्तनका समस्या भएका) १२ जनाको उपचार गरिएको थियो ।
नसर्ने रोग सम्बन्धिका ५ सय ४ जनाले सेवा लिएका थिए भने शिविरमा आएकामध्ये ५ जनाको सामान्य अप्रेसन गरिएको थियो । फिजियोथेरापी सेवामा १४ जनाले सेवा पाए । बिरामीमध्ये ४ जनालाई एमआरआई गर्न सुझाइएको थियो । उच्च रक्त चापका ६३ र चिनीरोग भएका १६ जनाले पनि उपचार सेवा लिएको आयोजकले जनाएको छ ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भरत थापाले जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शिविर आयोजना गरिएको बताए ।
सत्प्रयास समूहका एक अभियन्ता खेम बुढाले हरेक वर्ष दुर्गममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम र लक्ष्यअनुसार यो पटक लुंग्रीमा शिविर आयोजना गर्न समन्वय गरिएको बताए ।
