मोटरसाइकल र ई–रिक्सा चोरीको आरोपमा बाँकेमा ३ जना पक्राउ

चैत्र १५, २०८१

रुपा गहतराज

3 persons arrested in Banke on charges of theft of motorcycle and e-rickshaw

नेपालगन्ज — बाँके प्रहरीले मोटरसाइकल र ई–रिक्सा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल चोरेको आरोपमा नेपालगन्जका २० वर्षीय अमिर ढापाली, सुर्खेतका २१ वर्षीय पवन पाण्डे, र ई–रिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का ढापालीले नेपालगन्जको गणेशमानचोक नजिकबाट भे १२ प ३०६९ नम्बरको मोटरसाइकल चोरेका थिए । उक्त मोटरसाइकल नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६, मन्नापुरुवामा फेला परेको थियो । 

यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का पवन पाण्डेले नेपालगन्जको बसपार्क नजिकबाट प्र ०२००१ प ६९०० नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल चोरेका थिए ।

उक्त मोटरसाइकल कोहलपुरको किरणनाला नजिक बेवारिसे अवस्थामा फेला परेको थियो । जानकी गाउँपालिका वडा नं. ९ बस्ने जरवटले नेपालगन्जको ढोडेगाउँबाट भे १ ह ३०७० नम्बरको ई–रिक्सा चोरेका थिए । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully