नेपालगन्ज — यतिबेला नेपालगन्ज–सुर्खेत रोडमा साँझपख हातमा क्यामेरा बोकेका फोटोग्राफर र मोबाइलमा सेल्फी खिच्नेहरुको भीड लाग्ने गरेको छ ।
सडकको मध्यभागमा ढकमक फूलेका फूलसँग सेल्फी खिच्नेहरु दैनिक सैयौंको संख्यामा हुन्छन् । कोही एक्लै, कोही जोडीमा त कोही बालबच्चासहित आउँछन् । फूलसँग सेल्फी खिच्छन् र रमाउँछन् ।
राँझा एयरपोर्टदेखि गणेशमान चोकसम्म नेपालगन्ज उपमहानगरपालिकाले तारजाली लगाएर सडकको मध्यभागमा रहेका फूलहरुलाई संरक्षण गरेको छ । यतिबेला फूल फुलेर सडक नै राताम्ये देखिन्छ ।
विशेषगरी टिकटक बनाउने युवाहरुको उपस्थिति बाक्लो हुन्छ । साँझपख तस्बिर र भिडियो बनाउनेहरुको भीड लाग्न थालेपछि उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनको कामसमेत सुरु गरेको छ । पारिवारिक मात्र नभइ व्यवसायिक फोटोग्राफरहरु पनि त्यहाँ आउने आगन्तुकका लागि तस्बिर कैद गर्न तमतयार देखिन्छन् ।
साँझको समयमा त प्रहरीलाई सडक व्यवस्थापनमै अप्ठ्यारो हुन थालेपछि सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ । राति १२ बजेसम्म स्थानीयको भिड लाग्ने गर्छ । नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले ट्राफिक र नगर प्रहरीहरुको सहयोगमा साँझपख ट्राफिक व्यवस्थापनको काम गरिरहेको बताए ।
चार लेन सडकको ग्रिनबेल्टमा हुर्किएका फूल र विरुवाको संरक्षणमा उपमहानगरपालिकाले विशेष ध्यान दिँदै आएको प्रमुख विष्टले बताए । डा. बिनोद कर्णको टिमले सुरु गरेको विरुवा रोप्ने अभियानमा पछि भने विस्तारै उपमहानगरपालिकासँगै निजी तथा सामाजिक क्षेत्र पनि जोडिएका थिए ।
हरित अभियन्ता हेमन्तराज काफ्लेले विगतमा रोपेका विरुवा हुर्केर अहिले सहर सुन्दर बनेको देख्दा खुसी लागेको सुनाए ।
