पाल्पा — अर्घाखाँची बल्कोट घर भइ दमकडा माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थी कमल पन्थी कक्षा ५ देखि यही विद्यालयमा अध्ययन गरेका हुन् । बिहीबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका उनले प्रविधिमैत्री सीपको आवश्यक भएको महसुस गरेका छन् । ‘पढ्नका लागि दृष्टिविहीनका लागि प्रविधिमै भर पर्नुपर्ने हो,’ उनले भने, ‘अहिलेको युव प्रविधिमैत्री भए पनि दृष्टिविहीन विद्यार्थीका लागि भने प्रविधिमैत्री बनाउन सरकारले सकेको छैन ।’
उनले स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयलाई मनन गर्न सुझाव दिए । तानसेन नगरपालिकाले आफ्नो पालिकाभित्र बसोबास गर्ने दृष्टिविहीनलाई ल्यापटप बाँडेको सुनिए पनि सबै पालिकाले यसलाई सिको गर्नुपर्ने उनले बताए ।
रामपुर नगरपालिका–१, गाँडाकोट पाल्पाली दानमाया विक पनि दमकडा माविबाटै एसईईमा सहभागी छन् । उनले अंग्रेजी माध्यमबाट अध्ययन गर्न पुस्तक अभाव हुने भएकाले प्रविधिमैत्री तत्काल बनाउनुपर्ने सुझाव दिइन् । ‘यदि प्रविधिमैत्री पूर्ण रुपमा गर्न नसके पनि ब्रेल लिपीमै भए पनि पर्याप्त पुस्तक उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्, ‘कतिपय विषयको पुस्तक पनि हुँदैन । भएका पनि नेपाली माध्यमको पाइन्छ । अंग्रेजी माध्यमबाट पढ्न परे पाइँदैन । शिक्षकले पढाएको सुनेर सम्झनु पर्छ ।’
उनले अध्ययनका लागि तत्काल प्रविधिमैत्री हुन नसके पनि पर्याप्त पुस्तक ब्रेल लिपीमै भए पनि छापेर पठाउन आग्रह गरिन् । कक्षा ११ र १२ मा पनि कतिपय पुस्तक पाइन्छ । तर पुरानो कोर्सको हुने भएकाले अहिले मिल्दैन । त्यसैले सरकारले ब्रेल लिपीमै भए पनि पुस्तक छापेर पठाउनुपर्ने उनको सुझाव छ । माध्यमिक शिक्षा परीक्षा एसईईमा दृष्टिविहीन विद्यार्थीहर सहयोगी राखेर उत्साहपूर्वक परीक्षा दिइरहे पनि प्रविधिमैत्री बन्न सरकारी सहयोग नभएको गुनासो कायमै छ । सहयोगीमार्फत् परीक्षा दिइरहेका पाल्पा लगायत मुलुकभरका दृष्टिविहीन परीक्षार्थीहरुका लागि उपयुक्त सीपसँग जोड्ने पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव उनीहरुको छ ।
पाल्पाको दमकडा माविमा दृष्टिविहीनको स्रोत कक्षा चलेको छ । यहाँ कक्षा १ देखि १२ सम्म ३० जना विद्यार्थी अध्ययन गर्छन् । कतिपय छात्राबासमै बस्छन् । परिवारसँगै डेरा गरेर बस्ने पनि छन् । प्रविधिमा आधारित नयाँ आयाम दिनहुँ थपिदै गएको छ । तर दक्ष जनशक्तिको अभाव छ । पठनपाठन गराउन र गराउने सामग्री अभाव हुने दृष्टिविहीनको गुनासो छ । पर्याप्त प्रविधिमैत्री सामग्री विद्यालय आफै किन्न सक्ने अवस्था नभएको दमकडा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए । दमकडाले २०५२ सालदेखि दृष्टिविहीन बालबालिकाका लागि आवासीय रुपमा विशेष शिक्षा प्रदान गर्दै आएको छ ।
दमकडाबाट २०५८ सालदेखि २ सय बढी विद्यार्थीले एसईई, एसएलसी र प्लस टु पास गरिसकेको विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले बताए । उनका अनुसार पाल्पाबाहेक अन्य जिल्लाका विद्यार्थी पनि आवसाीय रुपमा विद्यालयमा बस्ने र पढ्ने गर्दै आएका छन् । ‘विद्यालय स्रोत केन्द्र पछि भएको हो,’ उनले भने, ‘तर पहिला नै मुठी दान लगायत सहयोगी संस्थाबाट दृष्टिविहीन इकाई सञ्चालन भएको थियो ।’ यहाँ दृष्टिविहीनका लागि ‘एक छाक खाना’ अभियान वर्षौंदेखि जारी छ । कोही कसैको जन्मदिन वा अन्य अवसरमा ‘एक छाक’ खाना खुवाउने प्रचलन छ ।
दृष्टिविहीन तथा न्यून दृष्टियुक्त विद्यार्थीका लागि उपयुक्त सीपसँग जोड्न आवश्यक पाठ्यक्रम र कार्यक्रम तयार गर्नुपर्ने दृष्टिविहीन शिक्षक कृष्ण पराजुलीले बताए । ‘प्रविधिमैत्री बनाउन सकियो भने परीक्षामा विद्यार्थी आफैंले प्रविधि र सीप प्रयोग गर्न पाउँछन्,’ उनले भने ।
यस वर्षको एसईईमा लुम्बिनी प्रदेशकै रुपन्देहीस्थित शान्ति नमुना माविबाट एक जना दृष्टिविहीन विद्यार्थी सहभागी भएका छन् । त्यसैगरी कर्णाली प्रदेशका १० जिल्लामा १० जना दृष्टिविहीन विद्यार्थीले यस वर्ष एसईई दिइरहेका छन् । सुर्खेतको श्रीकृष्ण संस्कृत तथा साधारण माविमा एक, सिम्ताको राकम केन्द्रमा ४ र रामघाट केन्द्रमा ४ जना छन् भने जाजरकोटको जगतिपुर केन्द्रमा एक जनाले एसईई दिइरहेका छन् ।
पठनपाठन र परीक्षा प्रणाली अपांगमैत्री बन्न नसके पनि आफूले अध्ययन गरिरहेकै विद्यालयबाट सहयोगी राखेर परीक्षा दिन पाउँदा सहज भएको सहभागी विद्यार्थीले बताएका छन् । त्यस्तै विद्यालयले पनि परीक्षालाई अपंगमैत्री बनाउने प्रयास भइरहेको श्रीकृष्ण संस्कृति तथा साधारण मावि सुर्खेतका केन्द्राध्यक्ष गणेशकुमार ढकालले बताए । त्यस्तै,गोरखाबाट ४ जना दृष्टिविहीन र १६ जना सुस्त श्रवणशक्ति भएका विद्यार्थी सहभागी छन् । रत्नराज्य मावि विरेन्चोक केन्द्रबाट सुस्तश्रवण र भवानी मावि र शक्ति मावि केन्द्रबाट दृष्टिविहीन विद्यार्थीले परीक्षा दिइरहेका हुन् ।
