डढेलो रोक्न श्रीनगरडाँडामा अग्निरेखा

चैत्र ९, २०८१

माधव अर्याल

A fire line in Srinagardanda to stop the fire

पाल्पा — डिभिजन वन कार्यालय पाल्पाले सुरक्षाकर्मी, वन उपभोक्ताको सहयोगमा डढेलो नियन्त्रणका लागि श्रीनगरडाँडाको जंगलमा अग्निरेखा निर्माण गरिएको छ । 

श्रीनगर वन क्षेत्रमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय उपभोक्ता, वन कर्मचारी गरी २ सयभन्दा बढीको सहभागितामा अग्निरेखा निर्माण गरेको हो । सोही स्थानमा जलनशील पदार्थको सरसफाइ गरिएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले बताए । ‘वन डढेलो सप्ताह पनि मनाइरहेका बेला यो कार्यक्रम थप प्रभावकारी हुने विश्वास छ,’ उनले भने, ‘सचेतनामूलक पनि होस् भन्ने हिसाबले अग्निरेखा निर्माण गरेका छौं ।’

हावाहुरी लाग्ने, रुख बिरुवामा पुरानो पात झरी नयाँ पात पलाउने मौसम भएकाले वन जंगलमा आगलागीका घटना न्यूनीकरण गर्न अग्निरेखा निर्माणको अभ्यास राखिएको उनले बताए । डढेलो नियन्त्रणका लागि अग्निरेखा सरसफाइमा तानसेनस्थित सेनाको दि फेमस महिन्द्रदलका सकल दर्जा, प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय वन उपभोक्ता, डिभिवन वन कार्यालयका कर्मचारीलगायत खटिएका थिए । 

अघिल्लो वर्ष श्रीनगरडाँडामा तीन पटकसम्म भीषण डढेलो लागेको थियो । श्रीनगरडाँडामा आगलागी भएमा अग्निरेखादेखि तल्लो क्षेत्रमा डढेलो तलैबाट नियन्त्रण हुनेछ । त्यस भन्दा माथिको डढेलो लागेमा माथि नै नियन्त्रण हुने गरी जंगलको बिचमा अग्निरेखा निर्माण गरिएको छ । ‘यसबाट उपभोक्तालाई पनि सचेत गराउन सकिने र नियन्त्रणको अभ्याससमेत हुनेछ,’ उनले भने । 

A fire line in Srinagardanda to stop the fire

जिल्लाका सबै सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सरोकारवाला निकायहरुलाई जनचेतना तथा आगलागी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन निर्देशन डिभिजन वन कार्यालयले दिइसकेको डिभिजन वन प्रमुख भट्टराईले बताए । डढेलो तथा आगलागीका घटना हुन नदिन गाउँगाउँमा रहेका सबै प्रहरी चौकीबाट वन उपभोक्ता, स्थानीयवासीसँग मिलेर अग्निरेखा निर्माण, पात पतिंगर संकलन अभियान नै चलाउनुपर्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । ‘डढेलो लगाउन हुन्न भन्ने चेतना उपभोक्तासम्म पुग्नुपर्ने देखिएको छ,’ उनले भने, ‘यस वर्ष पनि तीन ठूला डढेलोका घटना भइसकेका छन् ।’ 

रिब्दीकोटको देउराली र ख्याहाको जंगल, बगनासकाली गाउँपालिकाको दर्लमडाँडा, खानीगाउँ टाँकीचौर क्षेत्रका जंगलमा भीषण डडेलो लागिसकेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडा वन डढेलोको उच्च जोखिममा छ । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको छ । जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ  । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेल्चेक्राईका कारण लाग्ने गरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । 

डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्न अभियान सञ्चालन गरिए पनि प्रभावकारी भएको छैन । गत वर्ष मात्र ४ सय बढी स्थानमा डढेलोको घटना भएका थिए । जसबाट मानवीय क्षति नभए पनि ४० बढी घर तथा गोठ जलेको थियो । 

डिभिजन वन कार्यालयले सदरमुकाममा मात्र नभई ग्रामीण भेगमासमेत अग्निरेखा निर्माण, प्रचारप्रसार, सचेतना अभियान संचालन गरेको जनाएको छ । अभियानअन्तर्गत गाउँका प्रहरी चौकी, इलाका वन कार्यालयले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिंगर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिंगरको व्यवस्थान गर्ने काम गरिरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले बताए । जिल्लाका ८६ वटा सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully