बाँकेका तीन क्याम्पसमा अनेरास्ववियुका विजयी

चैत्र ७, २०८१

रुपा गहतराज

Aneraswaviyuka wins in Banke's three campuses

नेपालगन्ज — त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस र ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ ।

सो क्याम्पसमा केशरजंग शाहको नेतृत्वमा रहेको अनेरास्ववियुको सम्पूर्ण प्यानल नै विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

विजयी हुनेहरुमा स्ववियुको सभापतिमा केशरजंग शाह, सचिवमा चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल छन् भने सदस्यहरुमा अमिश विक, बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजिव साह, शिशिर सुवेदी र गोपाल आउजी रहेका छन् ।

शाहको प्यानलले नेविसंघ र अखिल क्रान्तिकारीको दुई वटा प्यानललाई पराजित गरेर विजयी भएको हो । देशका अधिकांश क्याम्पसमा सत्ता साझेदार दलका विद्यार्थी संगठनहरुबीच गठबन्धन भए पनि महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियूले एक्ला एक्लै चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा मंगलबार राति सम्पन्न मतगणनामा १३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएको क्याम्पस प्रमुख सुनिता आचार्यले बताइन् ।

सचिवमा इसा पौडेल, कोषाध्यक्ष अस्मिता सिंहसहित सबै पदमा पदमा अखिलकै उम्मेदवार निर्वाचित भएका हुन् । यहाँ २ सय २३१ जना मतदाता रहेका छन् ।

यस्तै खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको सभापतिमा अनेरास्ववियुका सर्बिन महतो विजयी भएका छन् ।

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी भएका छन् ।

अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७ मत खसेको थियो।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully