बर्दियाबाट भारत पलायन भएका २० बढी गैंडा फर्केनन्

चैत्र ६, २०८१

कमल पन्थी

More than 20 rhinoceros that fled to India from Bardia did not return

बर्दिया — तीन महिनाअघि बर्दिया राष्ट्रिय निकुञ्जबाट भारत पलायन भएका २० बढी गैंडा अझै फर्केका छैनन् । बेलाबेला गरी भारतीय सीमावर्ती क्षेत्रको कतरनियाघाट वन्यजन्तु आरक्षतिर गएका गैंडा नफर्किंदा बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका गैंडाको संख्या आधाले घटेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेका कारण गैंडा भारतीय आरक्षमा पुगेको निकुञ्जको अनुमान छ । गेरुवा नदीमा बाढीले थुपारेको गिट्टी, ढुंगा र बालुवा हटाएपछि पानी बग्न थालेको छ । निकुञ्ज प्रमुख अशोक रामका अनुसार जलस्तर बढ्दै गए पनि पलायन भएका गैंडा फर्केका छैनन् । ‘नदीमा जलस्तर बढेका कारण ती गैंडा छिट्टै फर्किने आशा छ,’ उनले भने ।

सन् २०२२ को गणनामा बर्दिया निकुञ्जमा ३८ वटा गैंडा थिए । तीमध्ये तीनवटा बाघको आक्रमण र प्राकृतिक कारणले मरेका हुन् । खाता अन्तर्राष्ट्रिय जैविक मार्गबाट हात्ती, बाघ, गैंडालगायतका वन्यजन्तु ओहोरदोहोर गर्छन् । यो जैविक मार्ग डिभिजन वन कार्यालय मातहत पर्छ । डिभिजन वन कार्यालय प्रमुख विजयराज सुवेदीले २० देखि २२ वटा गैंडा भारतीय आरक्षमा पसेको अनुमान गरे ।

‘पानीको समस्याले यहाँका गैंडा भारतीय सीमावर्ती आरक्षमा पुगेका हुन्,’ उनले भने, ‘प्रायः वन्यजन्तु एक ठाउँमा बस्ने भएकाले ती गैंडा पनि फर्केर आउँछन् ।’ निकुञ्जको भंगालो गेरुवा नदीमा जलस्तर घट्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या भएको थियो । अहिले गेरुवामा पानी बग्न थालेको उनले बताए ।

भारतीय आरक्षमा पुगेका वन्यजन्तु सहजै फर्कन पाउँदैनन् । जीपीएस रेडियो कलर नभएका कारण त्यहाँ गएका गैंडाको अवस्था बुझ्न नसकिएको निकुञ्जका अधिकारी बताउँछन् । सन् २०१० मा पहिलो पटक सीमावर्ती भारतीय आरक्षमा दुईवटा गैंडा पुगेका थिए । त्यसपछि भारतीय वन विभागले गैंडाका लागि पिउने पानी र घोल बनाएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले बताए । ‘गेरुवामा पानी सुक्दै जानुले गैंडा कतरनियाघाट आरक्षमा पुग्ने गरेका छन्,’ उनले भने, ‘बर्दिया निकुञ्जमा सरकारले चाँडै गैंडा व्यवस्थापनका लागि काम नगरे लोप हुने अवस्था आउन सक्छ ।’ 

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता अन्तर्राष्ट्रिय जैविक मार्गसँगै भारतको कतरनियाघाट आरक्ष पनि जोडिएको छ । कतरनिया आरक्षमा १४ वर्षअघिसम्म एउटा पनि गैंडा थिएनन् । अहिले बर्दिया राष्ट्रिय निकुञ्जबाट गएका गैंडाको बासस्थान बन्दै गएको छ ।

सन् १९८६ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको कर्णाली नदी तटीय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैंडा स्थान्तरण प्रक्रिया सुरु भएको थियो । त्यसपछि ७० वटा गैंडा बबई उपत्यकामा छाडिएको थियो । सशस्त्र द्वन्द्वकालमा भने बर्दिया निकुञ्जमा गैंडा चोरीसिकारका कारण लोप हुने स्थितिमा पुगेको थियो ।

चितवनबाट बर्दिया स्थान्तरण गरिएका ८३ गैंडामध्ये द्वन्द्वकालमा चोरीसिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए । १५ वर्षयता बर्दियामा गैंडा चोरीसिकार शून्य छ । यहाँको बबई, कर्णाली र बबई उपत्यका गैंडाको उचित बासस्थान मानिन्छ । बबई नदी र पानीको उचित आहाल भएको स्थान बबई उपत्यका हो ।

चितवनबाट यहाँ ल्याइएका गैंडाको घाँटीमा जीपीएस रेडियो कलर जडान भएकाले चरिचरन गरेको स्थानबारे निकुञ्जलाई जानकारी प्राप्त हुने गर्थ्यो । अहिले सबै जीपीएस बेकामे बनेका छन् । संरक्षणकर्मी रामबहादुर शाहीले अनुकूल वातावरण नहुँदा वन्यजन्तु पलायन हुने गरेको बताए ।

‘निकुञ्ज आसपास चर्को ध्वनि प्रदूषण हुने भएकाले वन्यजन्तु पलायन हुने गर्छन्,’ उनले भने, ‘सरकारले वन्यजन्तुका लागि उचित व्यवस्थापन गर्न जरुरी छ ।’ चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका अभियन्ता हेमन्त आचार्यले सरकारले तत्काल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गैंडाका लागि आहाल र घाँसे मैदान बनाउन जरुरी भएको बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully