पाल्पा — पाल्पाको रामपुर नगरपालिकास्थित सहिद बहुमुखी क्याम्पसमा मतगणना मंगलबार मध्यरातदेखि स्थगित भएको छ । निर्वाचन अधिकृतको हस्ताक्षरमा मतदान सम्पन्न भई मतगणना भइरहेका बेला उत्पन्न असहज परिस्थितिका कारण मतगणना स्थगित भएको जनाएको हो ।
५७१ मत खसेको सहिद बहुमुखी क्याम्पसमा केही मत गणना गर्न बाँकी रहँदा विवाद सिर्जना भएकाले नेविसंघका प्रतिनिधि गणनास्थलबाट उठेर हिँडेको र बाहिरी वातावरण असहज बनेकाले तीन राउन्ड हवाई फायर गरेर भीड तितरबितर पारेको प्रहरीले जनाएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार एक घण्टासम्म शान्त वातावरण गराउन खोज्दाखोज्दै नियन्त्रणबाहिर भएपछि हवाई फायर र भीड तितरबितर गर्नु परेको हो ।
पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले मतगणनास्थल बाहिर क्याम्पस परिसरमा असहज परिस्थिति सिर्जना भएकाले बल प्रयोग गर्नु परेको बताए । क्याम्पसन प्रशासनले सर्वपक्षीय बैठकका लागि प्रयास जारी राखेको र मतगणनाको वातावरण निर्माण गर्न प्रयास गरेको जनाएको छ । सहिद बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल गठबन्धन गरी दुई प्यानलमा प्रतिस्पर्धामा थिए ।
