गुल्मी — पहिला गाउँमा हुने विवाह वा उत्सवहरूमा पञ्चेबाजा धुमधामसँग बज्थे । तर केही वर्षयता बाजाको अभावमा धुमधाम होइन, सुनसान हुन थाले । गाउँमा बाजा खोज्यो कहिले बजाउने मान्छे पाइँदैन त कहिले के मिल्दैन, सधैं खल्लो हुने ।
विवाहमा बाजा भएन भन्ने चिन्ता, महोत्सवमा बाजा पुगेन भन्ने गुनासो, विद्यालयको वार्षिकोत्सवमा बाजा मिलेन भन्ने चासोबीच सत्यवती–४ एकसिंका युवाहरूले विकल्प खोजेका छन् ।
‘कति ठाउँमा धमाधम महिलाले पञ्जेबाजा तालिम लिएर बजाउन सुरु गरेको देखेपछि हामीले पनि बजाउने कि भन्ने सल्लाह भयो अनि क्लब र दाताहरूको सहयोगमा तालिम लिएर सुरु गरियो,’ समूहकी सदस्य ३२ वर्षीया राधिका गैरे गाहा भन्छिन्, ‘एकसिं लांघाली महिला पञ्चेबाजा समूह गठन गरेर अहिले बाजा बजाएरै आम्दानी गरिरहेका छौं ।’
महिलाले बाजा बजाउने विषयमा रुचि देखाएपछि स्थानीय युवा क्लबले पञ्चेबाजा जुटाउन तालिमका लागि सहयोग गरे । ‘क्लबबाट समन्वय गरेर महिलालाई बाजा बजाउन सिकायौं । बाजाको व्यवस्थापन गरियो । अहिले त उहाँहरू व्यावसायिक बनिसक्नुभएको छ,’ एकसिं लांघाली युवा क्लबका अध्यक्ष जगत राना सिंजालीले भने, ‘सीप पनि पुस्तान्तरण भएको छ, आम्दानी पनि भइरहेको छ ।’
पञ्चेबाजा समूहमार्फत बाजा बजाउने यहाँका १५ जना महिलाले बाजा बजाउन थालेपछि गाउँमा बाजा बजाउनेको अभाव मात्र पूरा गरेका छैनन्, टाढा–टाढा पुगेर बाजा बजाएरै राम्रो आम्दानी समेत गरेका छन् । ‘गाउँका विवाह, विद्यालयका वार्षिकोत्सवदेखि बुटवल, दाङसम्म पुगेर बाजा बजाउन थाल्यौं,’ राधिकाले भनिन्, ‘राम्रो बजाउने र मार्केट पाउने हो भने राम्रै आम्दानी हुने रहेछ । जति टाढा गयो, त्यति राम्रो पैसा आउने रहेछ ।’
बाजा बगाउने समूहका अरू सबै सदस्य मगर समुदायका हुन् । राधिका भने बाहुनकी छोरी मगरकी बुहारी भएर पनि मगर समुदायको अगुवाइ गर्दै बाजा बजाउने समूहको नेतृत्व गरेकामा सबैले प्रशंसा गर्छन् । उनीहरूले बाजा बजाएर आम्दानी भएपछि बाँड्छन् । केही रकम बाजा मर्मतका लागि कोष बनाएर राख्ने गरेका छन् । ‘घाँस काटेर मात्र बस्नुभन्दा बाजा बजाउँदा आम्दानी पनि राम्रो हुँदो रहेछ,’ पञ्चेबाजा समूहकी सदस्य निर्मला गाहाले भनिन्, ‘नयाँ ठाउँमा घुमघाम गर्दा नयाँ कुरा सिक्न पाउने, आम्दानी पनि हुने ।’
निर्मलाको बुझाइमा उनीहरूले अझै सिक्नुपर्ने धेरै कुरा छ । सौजन्य गरेको बाजाका सामग्रीले काम चलाएको अवस्था छ । त्यसैले अलि गुणस्तरीय बाजा आवश्यक रहेको उनीहरूले महसुस गरेका छन् । ‘हामी पूर्ण रूपमा प्रफेक्ट छैनौं । बाजा पनि अलि गुणस्तरको हुनुपर्छ । शहनाई बजाउनका लागि हामीले सक्दैनौं । पुरुषलाई नै हायर गरेर लैजानुपर्ने भएकाले हामीले नै तालिम पनि गर्नुपर्ने छ,’ राधिकाले भनिन्, ‘अनि अब प्रचार–प्रसार गर्नुपर्ने छ ।’
यी महिलाले पञ्जेबाजा मात्र होइन, गुल्मीको लिम्घा, एकसिंमा मात्र देखाइने झुमारानी गीति नाटक पनि संरक्षण गरेका छन् । झुमारानी भनेको मगर समुदायको परम्परागत संस्कृति हो । मगर समुदायमा विवाह संस्कार झल्काउने परम्परागत संस्कृतिको रूपमा रहेको यो गीति नाटक श्रीपञ्चमीमा देखाइन्छ ।
स्थानीय युवा क्लबको सक्रियता र महिलाको सहभागितामा यसको संरक्षणका लागि पहल गरिएको छ भने पञ्चेबाजा समूहका महिलाले यो गीति नाटक सिकेर प्रदर्शन गर्ने गरेका छन् । ‘पुराना पुस्ता सकिएसँगै झुमारानी लोप हुने डर रहेकाले समूहकै तर्फबाट छायांकन गरेर प्रचार गर्न सफल भएका छौं,’ क्लबका अध्यक्ष सिंजाली भन्छन् ।
