लुम्बिनी — एक समय गहना पसलमा भारतीय कालिगडको एकलौटी थियो। स्वदेशी कामदार फाट्टफुट्टमात्रै देखिन्थे। स्थानीय महिलाले गहना बनाउन सिकेपछि भने भारतीय कालिगडको एकाधिकार तोडिएको छ । गहना बनाउने सीप विस्तार गर्ने मध्येकी एक हुन् बुटवल–६ बुद्धनगरकी सविता विक।
उनलाई साँझ–बिहान घरधन्दा र दिनभरि सुनचाँदी पगाल्न र गहना बनाउन भ्याइ–नभ्याई छ । सविताले गहना बनाउन थालेको ११ वर्ष भएपनि बजारमा उनको प्रचार छैन । तर, उनले बनाएको पाँच जाली र कोशे औंठी भने परिचित डिजाइन बनिसके ।
अहिले औंठी देख्नासाथै जुनै सुन पसलेले पनि सविताले बनाएको ठम्याउन थालेका छन् । उनले अहिले फेन्सी गहना बनाउँदै आएकी छन् । सुनचाँदी व्यवसायी संघले आयोजना गरेको तालिममा सहभागी भएर उनले सीप सिकेकी थिइन् । विवाह भएपछि श्रीमान्ले जानेको काम गर भनेपछि उनी हौसिइन्।
‘तीन सन्तानलाई हुर्काउँदै काम गर्न सहज त थिएन,’ उनले भनिन्, ‘बिहान पकाइवरी नानीहरूलाई खुवाएर विद्यालय पठाएपछि आफ्ना लागि खाना लिएर काममा आउँछु ।’
श्रीमान् विदेशमा भएकाले आफूले नै घरव्यवहार र कालिगढी पेसा सम्हालिरहेको उनले बताइन् । उनी आफैँले मात्र गहना बनाइरहेकी छैनन् । पाँच वर्षयता उनले गहना बनाउने तालिम पनि चलाउने गरेकी छन् । आफूले सिकेको सीप अन्य महिलालाई हस्तान्तरण गरेर स्वरोजगार तुल्याउने उद्देश्यले सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी प्रशिक्षक बनेको बताइन् ।
‘जताततै पुरुष कालिगढ रहेका बेला महिलाले पनि गहना बनाउन सक्छन् भन्ने उदाहरण म आफैं हुँ,’ उनले भनिन्, ‘अहिले त कालिगढ मात्र नभएर प्रशिक्षक पनि बनिसके ।’ आफ्नो कामको चापसँगै अहिले उनलाई विभिन्न स्थानबाट तालिम दिन बोलावट आउन थालेको छ । यस्तो व्यस्तताले नै खर्च र आत्मसन्तुष्टि दुवै मिलेको उनले बताइन् ।
‘काम नगरी बस्न परे झ्याउ लाग्छ,’ उनले भनिन्, ‘नयाँ डिजाइन बनाउँदा सिक्ने जाँगर बढ्छ ।’ गहना बनाए वापत मासिक ९० हजार रुपैयाँसम्म पारिश्रमिक मिल्ने गरेको उनले बताइन् । डिजाइन, तोला, पिसको आधारमा पारिश्रमिक तोकिने उनले बताइन् ।
सविताले सिकाएर अहिले बुटवलमा १७ जना महिला कालिगड भइसके । गत फागुनयता बुटवल उपमहानगरपालिका र बुटवल सुनचाँदी व्यवसायी संघले महिलालाई गहना बनाउने तालिम दिएपछि महिला कालिगडको संख्या बढेको छ । सुनचाँदी पसलमा प्रायः भारतीय कालिगढ हुने, नेपाली पुरुष सीप भए पनि विदेश जाने समस्या छ ।
महिलालाई सिकाएपछि रोजगारी पनि हुने कामदार पनि टिक्ने भएकाले तालिम संचालन गरेको बुटवल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष कृष्णबहादुर सुनारले बताए । उपमहानगरका कार्यपालिका सदस्य रहेका उनले गत वर्ष कार्यपालिकामा आफैले महिलालाई गरगहना बनाउने सीपमूलक तालिमको प्रस्ताव ल्याएको बताए ।
बुटवल–६ ट्राफिकचोककी कमला विश्वकर्माले गहना बनाउन जानेपछि आफैले पसल सञ्चालन गरेकी छन् । उनले सुन पसलबाट अर्डर ल्याउँदै गहना बनाएर बुझाउने गरेकी छन् । त्यसवापत सन्तोषजनक ज्याला मिल्ने गरेको बताइन् । ‘मैले तालिम लिएपछि श्रीमान्ले लगानी गरेर पसल खोलिदिनुभयो,’ उनले भनिन्, ‘गहना बनाउने सीपले आत्मनिर्भरता बनाएको छ ।’
६० हजार रुपैयाँ लगानी गरेर घरमै मेसिन राखेर काम गरिरहेकी बुटवल–११ की दुर्गा लोहनीले आफूसँगै अर्की एक साथीलाई पनि रोजगारी दिएकी छन् । दाईको गहना पसल भएकाले घरबाटै बनाएर पसलमा दिने गरेको उनले बताइन् । ‘साथी सावित्रा गजमेर र म मिलेर काम गर्छौं,’ उनले भनिन्, ‘हामीले सिक्री बढी बनाउने गरेका छौं, त्यसकै काम धेरै पाइन्छ ।’
छोराछोरीको स्याहार सँगै आफ्नो आमदानीको स्रोत पनि बनेकाले यसलाई सकुन्जेलसम्म गर्ने उनले बताइन् । ‘भारतीय कालिगढले कति धेरै पैसा लैजाने रहेछन्,’ उनले भनिन्, ‘बल्ल थाहा भयो, पहिले नै तालिम लिन पाएको भए धेरै महिलाले रोजगारी पाइसक्ने रहेछन् ।’
बुटवल–११ की लक्ष्मी कालीकोटेले अन्य साथी भन्दा फरक तरिकाले कामलाई अघि बढाइरहेकी छिन् । गहना बनाउने मात्र नभई सुनपसल नै खोल्ने सोचले लागिपरेको उनले बताइन् । ‘श्रीमान्ले सुन गहना पसल चलाइरहनुभएको छ,’ उनले भनिन्, ‘म आफ्नै दोकान खोलेर आफूले बनाउने, अरुलाई राख्ने गर्न चाहन्छु, त्यसकै लागि पैसाको जोहो गर्दैछु ।’
बुटवल उपमहानगरपालिकाको १० लाख सहयोग र सुनचाँदी व्यवसायी संघको ५ लाख लागतमा भएको तालिमले १७ जना महिलालाई कालिगढ बनाएर उनीहरूमार्फत गहना बनाउने काम भइरहेकाले महिलालाई सीप विकास तालिम उपयुक्त भएको उपाध्यक्ष सुनारको भनाई छ । महिलाले काममा ध्यान दिने, फिनिसिङलाई प्रामिकतामा राखेर काम गर्ने भएकाले पनि भारतीय कालिगडको बाहुल्यतालाई घटाउँदै लैजान सकिने उनले बताए ।
