भैरहवा विमानस्थलबाट साढे ७ किलो गाँजासहित एक भारतीय महिला पक्राउ

चैत्र ४, २०८१

माधव ढुंगाना

An Indian woman was arrested from Bhairahawa airport with 7.5 kg of marijuana

भैरहवा — थाइल्यान्डबाट हवाईमार्ग हुँदै नेपाल आएकी एक भारतीय महिला सोमबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित पक्राउ परेकी छन् । ती महिलाको साथबाट प्रहरीले साढे ७ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार, भारतको महाराष्ट्र मुम्बई ठेगाना लेखाएकी ४५ वर्षीया गुलनाज बैग नामकी ती महिला सोमबार मध्याह्न साढे १२ बजेतिर बैंककबाट आएको थाई एयर एसियाबाट भैरहवा आएकी थिइन् ।

अध्यागमनको चेकिङ सकेर बाहिर निस्किँदै गरेकी ती महिलालाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा र विमानस्थल प्रहरीको संयुक्त टोलीले  पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले उक्त घटनाको पुष्टि गर्दै पक्राउ परेकी ती महिलालाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बताए । खाने मस्यौराजस्तै बनाएर प्लास्टिकले बाहिरबाट प्याक गरी उनले गाँजा ल्याएकी थिइन् । 

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully