पाल्पा — बेपत्ता भएका दुई जना सडक मजदुरको शव कालीगण्डकी नदीमा भेटिएको छ । कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल सडक खण्डको अस्थायी क्याम्पमा बसेर डोजर अपरेटरको काम गर्ने सिन्धुली जिल्लाको गोलाचौर गाउँपालिका–६ बस्ने २६ वर्षीय भोजराज अस्लामी मगरको शव बेपत्ता भएको पाँच दिनपछि कालीगण्डकी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फागुन २६ गते बेलुकी खाना खाएर साथीहरुसँग क्याम्पमा सुतेको र २७ गते बिहान बिस्तारामा नभेटिएपछि खोजतलास सुरु भएको हो । मोबाइल बिस्तारामै रहेको र सिसीटिभी फुटेजमा राति २ बजे क्याम्पबाट बाहिर निस्किएको देखिएको थियो । खोजतलास गर्ने क्रममा बगनासकाली गाउँपालिका–६ यम्घा माइचौरमा कालीगण्डकी नदीमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
यसैगरी सोही सडक खण्डमा लेबर काम गर्ने दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–३ घर भएका ४५ वर्षीय तेजबहादुर रास्कोटीको पनि तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ । फागुन २९ गते कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको शव २ सय मिटर टाढा पानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राम्दी रानीमहल निर्माणाधीन सडकमा काम गर्ने रास्कोटी डुबेको खबर उनका साथीहरुले प्रहरीलाई गराएपछि खोजतलास गरिएको थियो । दुवै जनाको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
