पुतली गणनाबारे ६ प्रश्न

युवा पुतलीविद् सनेजप्रसाद सुवाल भन्छन् : 'पुतलीले उत्पादन बढाउन पनि सहयोग पुर्‍याउँछ'

चैत्र ३, २०८१

मनोज पौडेल

6 questions about butterfly counting

कपिलवस्तु — पुतली मन नपराउने को होला ? फूलको रस चुस्दै उड्ने र फूलवरिपरि झुम्मिने पुतलीलाई देख्दा सबै लोभिन्छन् । मनमोहक र सुन्दर पनि उत्तिकै लाग्छ । जति हेरे पनि आँखा थाक्दैनन्, मन भरिँदैन । यस्तो मनमोहक पुतली पनि गणना गरिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ

अचम्म मान्नु पर्दैन । काम कठिन र अध्ययनशील भए पनि यसको गणनामा नेपाली नै संलग्न छन् भन्ने सुन्दै आनन्द पनि मिल्छ । तर जिज्ञासा उठ्छ- पुतली गणना कसरी गरिन्छ होला त ? 

पुतली चञ्चले हुन्छन् । फुर्रर फुर्रर उडिरहन्छन् । छिनभरमै परपर पुग्छन् । तलदेखि माथि उचाइसम्मै पुग्छन् । जानकार र सीप भएकाले राम्ररी पुतली गणना गर्छन् । टाढाटाढा र उडिरहेका पुतली पनि गणनामा ल्याउँछन् । अहिले मौसमका हिसाबले पुतली बढी देखिने समय भएकाले २९ दिने बिग बटरफ्लाइ काउन्ट अभियान चलाइएको छ । 

वन क्षेत्रमा पाइने पुतली र दुर्लभ पुतली मार्च, अप्रिल, जुन र जुलाईतिर बढी देखिन्छन् । त्यसैले बढीभन्दा बढी सूचना संकलन गर्न अहिले अभियान चलाइएको हो । यो अभियानको नेतृत्व ३६ वर्षे पुतलीविद् सनेजप्रसाद सुवालले गरेका छन् । उनी पुतलीका विशेषज्ञ पनि हुन् । 6 questions about butterfly counting

उनले मुलुकभर पुतली गणना र त्यसको विविधता पत्ता लगाउन बटरफ्लाइ वाचर्स नेपाल, भक्तपुर सोसल मिडिया प्लेटफर्म गठन गरेर काम गरिरहेका छन् । वातावरण विज्ञानमा स्नाकोत्तर गरेका उनले ध्वाँसे चितुवामा थेसिस लेखेर वन्यजन्तुविद् हुने सपना बुनेका थिए । तर, स्रोत अभाव र ६ महिनामै थेसिस पूरा गर्नुपर्ने हुँदा उनको रुचि मोडियो । उनले २०१६ मा पुतलीमा थेसिस लेखे । राम्रो गरे । यसपछि उनको संरक्षणतिरको यात्रा मोडिएर पुतलीतर्फ सर्‍यो । ६ वर्षदेखि पुतलीमा खोज, अध्ययन, अनुसन्धान गर्दै आएका सुवाल अहिले मुलुकमै युवा पुतलीविद्का रूपमा चिनिन्छन् । 6 questions about butterfly counting

नेपालमा पाइने पुतलीका बारेमा अध्ययन, अनुसन्धान, पहिचान, संरक्षणको नीति र योजना बनाउनु परे उनको खोजी हुन्छ । परिश्रमी, मिहिनेती र अध्ययनशील एवं नयाँ नयाँ कुराको जानकारी खोजिरहने हुँदा उनी आईयूसीएन नेपालको पुतली र मोंथ विशेषज्ञ समूहको सदस्य छन् ।

आईयूसीएनले नेपालमा पुतलीबारे खोज अनुसन्धान, पहिचान र दीर्घकालीन संरक्षण अभियान यही प्राविधिक समितिको सल्लाहमा गर्छ । त्यस्तै उनको ज्ञान र क्षमता फराकिलो हुँदै गएपछि आईयूसीएन नेपालको सूचना र सञ्चार विशेषज्ञ समूहको पनि सदस्य बनेका छन् । प्यारालासा नेपालीका (नेपाल आर्गस्) पुतली मुस्ताङ र डोल्पामा मात्र रेकर्ड भएकामा उनले हुम्लामा फेला पारेर नयाँ रेकर्ड बनाएका थिए । उनै युवा पुतलीविद् सनेजप्रसाद सुवालसँग पुतलीबारे गरिएका ६ प्रश्न : 6 questions about butterfly counting

पुतली गणना किन गरिन्छ ?

यस प्रजातिका पुतली नेपालमा छन् कि छैनन् भनेर पत्ता लगाउन पुतली गणना गरिन्छ । त्यस्तै हिमालमा पाइने पुतली तराईमा र तराईमा पाइने पुतली पहाडमा पाइन्छन् कि पाइँदैनन् भनेर पनि गणना गरिन्छ । पुतलीको संख्या र त्यसको डिस्ट्रिब्युसन कता कता छ भनेर थाहा पाउन पनि यसको गणना गरिन्छ । पतली गणना गर्दा संख्या, बासस्थान र प्रकारबारे पनि थाहा पाइन्छ । पुतली साँच्चिकै लोप हुन लागेको हो कि भनेर थाहा पाउन पनि पुतली गणना गरिन्छ । पहिला र अहिलेको अवस्था र कहाँ कहाँ पाइन्छन् भन्ने थाहा भइसकेपछि त्यसको अवस्था थाहा लाग्छ । आईयूसीएनको रेडलिस्ट क्याटेगोरी प्रयोग गरेर साच्चिकै लोप हुन लागेको हो कि भनेर पत्ता लगाउन सकिन्छ ।

कुन प्रविधिको प्रयोग गरिन्छ ?

पुतली गणना गर्दा मुख्य रूपमा तस्बिर खिचिन्छ । विश्वब्यापी रूपमा आई न्याचुरलिस्ट भन्ने समूह छ । यो समुह सिटिजन्स साइन्टिस्टलाई लक्षित गरेर बनाएको विश्वव्यापी कमन प्लेटफर्म समूह हो । यसमा आफूले एकाउण्ट खोल्नु पर्छ । आफूहरूले खिचेको पुतलीको तस्बिर र विवरण राखेपछि त्यो पुतलीको नाम र त्यसका विवरण दिइन्छ । समूहले कहिलेकाहीं पुराना तथ्यांक दिने हुँदा सतर्कता भने अपनाउनु पर्छ । क्रस चेक गर्नुपर्छ । यसका लागि उनले आफैंले संचालन गरिरहेको बटरफ्लाइ वाचर्स नेपाल सोसल साइन्स बेस्ड सोसल मिडिया प्लेटफर्ममा इमेल पठाएर पनि जानकारी लिन सकिन्छ । म आफैंले पनि कतिपय जानकारी दिन्छु । मैले नसके राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ र विशेषज्ञसँग समन्वय र विष्लेषण गरेर नयाँ जानकारी दिन्छन् । गणना गर्दा नभई नहुने उपकरण क्यामरा हो । नभए मोबाइल भए पनि हुन्छ । तुतली गणनाका लागि तस्बिर महत्त्वपूर्ण कुरा हो । पर भए हेर्नका लागि दूरबिन चाहिन्छ । टेलिस्कोप भए अझ राम्रो हुन्छ । यसले टाढाको पुतली राम्ररी पहिचान गर्न मद्दत गर्छ । 6 questions about butterfly counting

पुतली गन्नैपर्ने कारण के हो ? गणना नगरे के हुन्छ ?

अवस्था, वितरण र संख्या थाहा पाउन पुतली गन्ने गरिन्छ । सूचना नहुँदा आवश्यक नीति नियम, योजना र कार्यक्रम बनाउन समस्या हुन्छ । पुतलीबारेका अद्यावधिक विवरण नहुँदा पर्यापर्यटनको आकर्षण थाहा हुँदैन । नेपालमा पुतली हेर्न विदेशी आउँदैनन् । यसले कुन रैथाने पुतली हो भन्ने थाहा हुन्छ । कुन पुतलीलाई संरक्षण आवश्यक छ भन्ने पनि गणना गर्दा थाहा लाग्ने कुरा हो ।

पुतलीको महत्त्व के हो ?

यसको महत्त्वपूर्ण पक्ष भनेको परागसेचन हो । मौरीपछि सबैभन्दा बढी पुतलीले पोलिनेटरको काम गर्छ । संसारका ८० प्रतिशत खाद्यान्न उत्पादन गर्न परागसेचन आवश्यक पर्ने देखिएको छ । नभए उत्पादन बढ्दैन । भोकमरी सुरु हुन्छ । यसले जनजीवन नै प्रभावित पार्छ । वातावरणलाई मनमोहक बनाउने पुतलीले समाजोपयोगी काम पनि गर्छ । धेरैलाई थाहा नभए पनि अप्रत्यक्ष रूपमा यसले उत्पादन बढाउन पनि सहयोग गर्छ । अन्नबाली, तेलहन र फलफूलमा परागसेचन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । फूलमा रस चुस्दा चुस्दै भाले र पोथी फूलबीच परागसेचन भई उत्पादनमा राम्रो योगदान गर्छ । पुतलीले जलवायु परिवर्तनको सूचकका रूपमा पनि काम गर्छ । स्वस्थ वनको सूचक पनि हो । आकर्षक देखिने पुतलीले पर्यापर्यटनका लागि समेत भूमिका निर्वाह गर्ने हुँदा उत्पादनदेखि पर्यटनसम्म पुतलीको महत्त्व छ । 6 questions about butterfly counting

विगतमा एक जनाले कति पुतली गणना गरेका थिए ? 

२०२४ मा बिग बटरफ्लाइ काउन्ट अभियानमा एक जनाले ७५ भन्दा बढी प्रजातिका पुतली गणना गरेका थिए । यो संख्याले उत्साहित भएर अहिले युवा विद्यार्थी धेरै जना गणनामा सहभागी छन् । 

नेपालमा कति प्रकारका पुतली पाइन्छन् नि !

नेपालमा ६ सय ९२ प्रजातिका पुतली पाइएको रेकर्ड छ । नेपालमा तराईदेखि हिमालसम्म पुतली पाइन्छन् । नेपालमा मात्र पाइने पुतली हाम्रा महत्त्वपूर्ण विविधता हुन् । विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छन् । नेपाल वाल, नेपाल स्किपर, नेपाल मेडो ब्लु र मनाङ मेडो ब्लु प्रजातिका पुतली नेपालमा मात्र पाइन्छन् । मनाङ मेडो ब्लु त मनाङमा मात्र पाइन्छ । विश्वमा पाइने पुतलीका ६ परिवार हेस्पिरडाई, प्यापिलिनोइडी, पिरिडी, लाइसिनिडी, रियोनिडी र निम्फालिडीकै पुतलीहरू नेपालमा पनि पाइन्छन् । नेपालमा पाइने सबैभन्दा ठूलो गोल्डेन बर्डविङ हो । यसको लम्बाइ १५० मिलिमिटरदेखि १९४ मिलिमिटर हुन्छ । यो साइटिस लिस्टमा पनि छ । यहाँ पाइने सबैभन्दा सानो पुतली स्मल ग्रास ज्वेल हो । यसको लम्बाइ १५ मिलिमिटरदेखि २२ मिलिमिटरसम्म हुन्छ । नेपालमा सबैभन्दा बढी पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा हेर्न पाइन्छन् । काठमाडौं उपत्यकामा गोदावरीमा हेर्न पाइन्छ । तराईमा चितवनमा बढी हेर्न पाइन्छ । 

पुतलीलाई कसरी संरक्षण गर्ने ?

घरवरिपरि फूल रोपेर, वनमा डढेलो लाग्न नदिएर र किटनाशक औषधि प्रयोग कम गर्दै लगेर पुतली संरक्षण गर्न सकिन्छ । त्यस्तै पानीका स्रोत संरक्षण गरेर र पुतलीहरू नमारेर यसको संरक्षण गर्न सकिन्छ । बाह्रै महिना नेपालका ७७ जिल्लामा पाइने पुतली कमन इण्डियन टरट्वाइज सेल हो । यो नेपालमा समुद्र सतहको ७० मिटरदेखि ७ हजार २ सय मिटरको उचाइमा कञ्चनजंघामा रेकर्ड भएको पाइएको थियो । नेपालमा जताततै देखिने सबैभन्दा कमन पुतली भने इण्डियन क्याबेज ह्वाइट हो ।

मनोज पौडेल

Link copied successfully