पाल्पा — हा...पूर्वै दिशा आयो जोगी बस्यो आँगन....हामी कसरी खेलौ रंग आँगन...घरघरै भिख मागन...यी र यस्तै गीत आएर पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालको टोलटोलमा बुधबारदेखि फागु खेलिएको छ । यहाँका ६७ वर्षीय पुर्खसिंह गाहाले गीत निकाले । उनका साथीहरू ५६ वर्षीय खड्गसिंह गाहालगायतका टोलीले गीतलाई साथ दिए । रमाइलोसंग परम्परागत फागु खेलेको देख्दा जो कोहीको मनै लोभिन्छ ।
हुन त पहाडी भेगका अधिकांश गाउँमा फागुपूर्णिमाको केही दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलन थियो । तर कतिपय गाउँमा भने यस्ता गीत लोप हुन थालिसकेका छन् । निस्दीको सहलकोट, झिरुवास, गल्धा, अचले, ज्यामिरेलगायतका गाउँका मगर समुदायले खड्गसिंहले जस्तै मौलिक फागु खेल्न थालेका हुन् । पहाडमा खेलिने फागुको अघिल्लो दिनदेखि अर्कोदिनसम्म तीन दिन कम्तीमा खेल्ने प्रचलन रहेको उनले बताए ।
‘अन्यत्र हराउनै लागि सक्यो, हामीले भने लोप हुन दिएका छैनौं,’ पुर्खसिंहले भने, ‘रोधी बस्ने चलन हराएजस्तै अब हाम्रो पुस्तापछि यस्ता गीत गाउन जान्ने युवा पुस्ता नै नभेटिने हो कि भन्ने डर भइसक्यो ।’ उनका अनुसार फागु पुर्णिमाको अघिल्लो दिनदेखि नै मुखैले गाउने र तीन दिनसम्म जारी रहन्थ्यो । पुराना पुस्ताले गाउँमा रमाइलो गर्ने गर्दथे । अहिलेका पुस्तालाई सिकाउनुपर्ने र हराउन दिन नहुने उनको सुझाव छ । निस्दीकै मित्यालका रुक्सेभन्ज्याङका ६८ वर्षीय मीनबहादुर थापा पनि अहिलेको पुस्ताले पुराना गीतलाई संग्रह गर्न नसकेकामा चिन्तित छन् । उहिले उहिले मौलिक फागु गीत गाइन्थ्यो । गहना, फलफूल, बिरुवा, फुलहरु, जोगियासम्बन्धी गीत गाउने प्रचलन थियो ।
‘अहिले कहिकतैका कतिपय पाका पुस्ताले गीत गाउन छाडेका छैनन्,’ उनले भने, ‘तर नयाँपुस्ताले भने यसलाई गाउन छाडिसकेका छन् । यसलाई जोगाउन पर्छ । हाम्रो मौलिक संस्कृति यही झल्किन्छ ।’ ठूलाठूला स्पिकर बजाउने, माइकमा नाच्ने, रंग खेल्ने अण्डा फाल्ने, पानी फाल्ने जस्ता काम गलत भएको उनको सुझाव छ । युवापुस्ताका गायक तथा वाद्यवाधक मीनबहादुर राई मगर पनि पछिल्लो पुस्तालाई पुराना गीतप्रति कुनै चासो नभएको स्वीकार्छन् । ‘खोइ अब हाम्रो पुस्तापछि त यी गीतहरु रहन्छन् वा रहन्नन् भन्ने भइसकेको छ,’ उनले भने, ‘गीत गाउने, आफैंले बजाउने, नाच्ने हाम्रो मौलिक संस्कृति थियो । अहिले यो बिर्सन थालियो ।’
परम्परागत पुरानो गीत पुरानै भाकामा गाउँदै नाच्न छुट्टै मज्जा आउने उनले बताए । युवा पुस्ताका भए पनि बुढापाकाले पनि राई मगरलाई मन पराउने गर्छन् । ‘गीत गाउन, बजाउन पर्दा अगुवा मलाई नै गराउने गर्नुहुन्छ,’ उनले भने, ‘मैले सिकेको छु तर अरुले यसलाई सिक्नै खोज्दैनन् ।’ घरघरमा जाने, माग्ने र जम्मा भएको अन्न, पैसाबाट सामाजिक काम गर्ने प्रचलन पहिले थियो । तर अहिले भने यस्तो प्रचलनभन्दा विकृति बढी आएको मित्याल झ्याल्टुङका रनबहादुर गाहाले बताए । उनका अनुसार पहिले पहिले गाउँका पाकादेखि युवासम्मका पुस्ताले गीत गाउने, नाच्ने, बजाउने गर्ने प्रचलन थियो । ‘अहिले भने बोलायो भने कोही नआउने समस्या छ,’ उनले भने, ‘बुढापाकालाई जम्मा गर्ने केही घरमा जाने खेल्ने बाहेक हुने अवस्था छैन ।’ पहिले भने आफ्नो गाउँमात्र होइन, छिमेकका वल्लो, पल्लो गाउँमा पुगेर फागु खेल्ने प्रचलन थियो ।
अबका दिनमा पुराना फागुगीत संकलन गर्ने, गाउन सिकाउने गर्नुपर्ने अवस्था आएको निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष सन्तबिर सुनारीले बताए । फागु गीत र नाच स्थान अनुसार फरक-फरक छ । कतिपय गाउँमा फागु गीतमा बली राजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिने गरिन्छ । अचम्म त के छ भने फागुको राग लिने गरिन्छ । बजाउने र गाउने गरिन्छ । महिला–पुरुषबीचको मायाप्रेम पनि फागु गीतमा छ । कतिपयले होलीकाका विषयमा पनि गीत गाउने गर्छन । फागु गीत संकलक तथा इतिहास बुझेकाहरूबाट त्यस्ता गीत संकलन गरेर गाउन सिकाउनुपर्ने वडाध्यक्ष सुनारीले बताए ।
केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएको छ । परम्परागत महिमा र रौनक हराउँदै गएको छ । मगर समुदायमा पनि पुरानै परम्परा अनुसार फागु खेल्ने गरिन्थ्यो । आफ्नै संस्कृति, पोसाकमा फागु खेल्न सिकाउनुपर्ने युवापुस्ता धनबहादुर ठाडाले बताए । युवा पुस्ताको संस्कृतिप्रति चासो कम हुनु, विदेश पलायनले पछिल्लो समयमा बिस्तारै हराउँदै गएको उनले बताए ।
मौलिकता जोगाउन पाल्पाको पश्चिम भेगका भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा लगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । सोमादीको सर्देवामा होली दहन, चीर गाड्नेलगायतका प्रचलन कायमै छ । रिब्दीकोट गाउँपालिका र भैरवस्थान मन्दिर व्यवस्थापन समितिले प्रतियोगिता नै राख्ने गरेको छ ।
