लुम्बिनी — यहाँ घुम्न आउनेका लागि विहार, मोनास्ट्री, चैत्य र गोन्पोबाहेक अब ‘फ्लेम अफ होप’ (आशाको ज्योति) पनि थपिएको छ । विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित पुरानो राजकीय विहार (नेपाल मन्दिर)मा विभिन्न ९ देशका १५ ठाउँबाट संकलन गरी ल्याइएको दीप (बत्ती) को समिश्रणबाट आशाको ज्योति बालिएको हो ।
बुद्ध जन्मस्थल मायादेवी मन्दिरदेखि पूर्वमा रहेको राजकीय विहारमा यो दीपलाई आशाको ज्योति नाम दिइएको छ ।
नेदरल्यान्ड, जापान, अमेरिका, इटाली, फ्रान्स, इजरायल, भारत, नेपाल र प्यालेस्टाइनका विभिन्न ठाउँबाट संकलन गरिएका दीपको समिश्रणबाट यहाँ बालिएको हो । ‘लुम्बिनीमा १५ वटा दीपको समिश्रण गरेर १६ औं दीप बालिएको छ । यसले सधैं एकनासले प्रकाश दिइरहन्छ,’ भिक्षु सागर धम्मले भने, ‘संसारमा यस्ता दीप विरलै हुन्छन् ।’
यहाँ स्वतन्त्रता, नागरिक अधिकार, रंगभेदविरुद्ध र अहिंसात्मक आन्दोलन अगुवाका प्रतिमा अघि बालिएका ‘फ्लेम’बाट दीप संकलन गरी ल्याइएको छ । त्यस्तै हिरोसिमा, नागासाकी, विश्व शान्तिको मुहान, शान्तिस्थल, जिसस क्राइस्ट जन्मस्थलबाट पनि दीप संकलन गरी ल्याएर बालिएको छ । यसरी दीप संकलन गरेर लुम्बिनीमा बाल्ने काम ६९ वर्षे जापानी भिक्षु रेक्यु इन्दोले गरेका हुन् ।
विहारको दक्षिणतिर रहेको करिब ३ सय वर्ष पुरानो पीपलको रुखमुनि उत्तरतिर फर्काएर अखण्ड दीप बालिएको छ । उक्त दीपलाई बौद्ध परम्पराअनुसार थेरबादी, महायानी र चिनियाँ भिक्षुले मंगल पाठ गरेर प्रज्वलन गरेका थिए । जापानी थेरापी उपचार पद्धति जेन सियत्सुका विज्ञ र प्रशिक्षक भएर विदेश घुम्दा शान्तिका लागि सानो भए पनि काम गर्ने विचार आएको जापानी भिक्षु इन्दोले बताए ।
‘सन् २०१४ मा प्यालेस्टाइनमा ३ वर्षे बालिकाका दुवै खुट्टा बमले क्षतविक्षत भएको देख्दा निकै पीडा भयो । त्यसपछि शान्तिका लागि केही अभियान चलाउनु पर्छ भन्ने लाग्यो,’ उनले भने ।
आफ्नै मुलुकको हिरोसिमा र नागासाकीमा खसालिएको आणविक बमको तहसनहस र प्यालेस्टाइनमा देखेको दुःखले शान्तिको सन्देश छर्न ऊर्जा पलाएको उनले बताए । त्यसपछि शान्तिको अभियानमा लागेका उनले सुरुमा २०१५ मा आणविक बमले क्षतविक्षत बनेको नागासाकी–हिरोसिमा–क्योटो–टोकियो शान्ति साइकल यात्रा गरेका थिए ।
ठाउँठाउँमा शान्तिबारेमा प्रवचन गर्दै दुई साता लगाएर १ हजार ३ किलोमिटर साइकल यात्रा पूरा गरेको उनले बताए । उनले २०१९ मा जापानको नागासाकीबाट शान्ति दीप संकलन सुरु गरेका थिए । लुम्बिनीमा हिरोसिमाको शान्ति दीप, जापानको होसिनोमा बलिरहेको आणविक ज्वाला, जिसस क्राइस्ट जन्मिएको मानिने ‘चर्च अफ द नेटिभिटी’बाट निस्कने बेथलेहमको शान्ति ज्योति, ओलम्पियादेखि नागासाकीसम्मको प्रतिबद्धताको ज्वाला र याद बासेम जेरुसलमको बाह्य ज्वाला समावेश गरिएको छ ।
अमेरिकामा व्याप्त रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलनका अगुवा तथा नोबेल शान्ति पुरस्कार विजेता मार्टिन लुथरकिङका नाममा स्थापित अमेरिकामा रहेको सेन्टरको दीप, फ्रान्सको लुर्ड्समा रहेको पवित्र मानिने एपेरिसन गुफाको दीप, जापानको मियाजिमास्थित माउण्ट मिसेनमा रहेको रेकाडो मण्डपमा १२ सय वर्षअघिदेखि बलिरहेको मानिएको कुकाई दीप, भारतको दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा राखिएको दीप र नेदरल्यान्डको वागेनिंगेनमा रहेको फ्रिडम फायरको दीप पनि समावेश गरिएको छ ।
जापानको होङ्गान जी विहारमा रहेको ४ सय ५० वर्ष पुरानो दीप, इटालीको असीसीमा रहेको शान्तिको प्रतिकात्मक दीप, नेपालको लुम्बिनीमा रहेको अखण्ड शान्ति दीप, जेरुसलमबाट ल्याइएको पवित्र एस्टरको ज्वाला र भारतको मुम्बईस्थित ओभल ग्राउन्डमा रहेको डा. भीमराज अम्बेडकरको प्रतिमा नजिक राखिएको अखण्ड दीप पनि समावेश गरिएको भिक्षु इन्दोले बताए ।
भिक्षु इन्दो जापानी उपचार पद्धति ताओ सियात्सुको चिकित्सक पनि हुन् । उनी सन् २०१५ देखि हरेक वर्ष इजरायल गएर पश्चिमी चिकित्सामा प्रशिक्षित डाक्टरलाई सियात्सु सिकाउँछन् । ओकिनावाको फुकुजुसो मनोचिकित्सा अस्पतालमा उनले बिरामीको उपचार र शिक्षण गर्दैगर्दा राम्रा चिकित्सक बने ।
सन् १९९१ मा उनले आइकिडोमा ब्ल्याक बेल्ट प्राप्त गरे । त्यसपछि बौद्ध धर्ममा लागे । बौद्ध धर्ममा अध्ययन पूरा गरे । बौद्ध पुजारी बने । अहिले उनी क्योटोमा रहेको वाडा टेम्पलको प्रमुख हुन् । उनी गीतसंगीत गाउने र संगीतका कम्पोजर पनि हुन् । उनले ८ वटा पुस्तक लेखेका छन् । कतिपय पुस्तक ६ विभिन्न भाषामा अनुवाद गरिएको छ ।
इन्दोले विशेष प्रकारको सानो बक्सजस्तो हाते पर्समा विभिन्न ठाउँबाट दीप संकलन गर्छन् । ‘चारकोल (कोइला) मा आगो रहिरहन्छ । तर, ज्वाला उठ्दैन । आगो लिएर यात्रा गर्न निकै गाह्रो हुन्छ,’ उनले भने, ‘विमान कम्पनीलाई आफ्नो उद्देश्यबारे बताएपछि कतिपयले सहज स्किार्छन् । कतिपयले गाह्रो मान्छन् ।’ उनी शान्तिका लागि हिँड्दा लालटिन बालेर हिँड्छन् ।
