रोल्पा — पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिका-५ पुरानो बुझिङको सुनथोक सामुदायिक वन क्षेत्र नजिकैको जंगलमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त शव लुंग्री गाउँपालिका-५ पुरानो बुझिङ जल्केनीका ६४ वर्षीय जिते विकको भएको पुष्टि भएको हो। घटनाबारे सोमबार प्रहरीलाई जानकारी भएपछि अनुसन्धानमा लागेको प्रहरी टोलीले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।
वनमा शव भेटिएको बारेमा वडाध्यक्ष रिखबहादुर रोकाले प्रहरीलाई पहिलोपटक सूचना दिएका थिए। घटनाको अनुसन्धान गर्न सुलिचौरस्थित इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा ७ जनाको प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धानबाट विकको शव स्थानीय टाउके रोकाको खरबारी नजिकैको खोल्सामा रहेको पत्ता लगाएको थियो। शवको पहिचान गर्न मृतककी बहिनी जस्मता विक घटना स्थलमा आइपुगेकी थिइन् । शव सड्नै लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव रोल्पा अस्पतालमा पठाइएको छ।
प्रहरीका अनुसार मृतक जिते फागुन १९ गते घरबाट बिनाजानकारी निस्केका थिए । घटनाबारे फागुन २१ मा परिवार र आफन्तले प्रहरी चौकी लुंग्री किलाचौरमा खोजी गरिदिन निवेदन दिएका थिए । प्रहरीले उनको हुलिया र तस्वीर सबैतिर पठाएर खोजी कार्य तीव्र बनाएको थियो। पछिल्लोपटक रोल्पामा बेपत्ता र बेवारिसे अवस्थामा मानिसहरू हराउने र मृतक अवस्थामा फेला पर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए ।
