उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन स्वास्थ्यकर्मीहरूलाई मुख्यमन्त्री आचार्यको आग्रह

फाल्गुन २४, २०८१

दुर्गालाल केसी

Chief Minister Acharya urges health workers to dedicate themselves to public service with high morale

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आग्रह गरेका छन् । 

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई शनिबार लमहीमा सम्बोधन गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको बताए । प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्तिविकासको ढोका खोलेको उल्लेख गर्दै आचार्यले सरकार कुनै पनि पेसाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताए । 

`प्रदेश सरकारले कुनै पनि पेसाकर्मीलाई निरुत्साहित गर्दैन, प्रोत्साहित गरेर सेवामा समर्पित हुने वातावरण निर्माण गरेको छ,´ उनले भने, `प्रदेश सरकारले निजामती सेवा ऐन र स्थानीय सेवा ऐन कार्यान्वयन गर्न नियमावली बनाउने कामलाई अन्तिमचरणमा पुर्‍याएको छ । यसले कर्मचारीलाई  प्रोत्साहन गर्नेछ ।´

उनले सामाजिक न्याय र पेसागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले नियमावलीबारे ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी दिँदै नियमावली भावनाभन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताए । 

उनले प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि प्रतिबद्ध रहेको बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully