तिलोत्तमा — ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाले पालिकाभित्रका श्रमिक महिलालाई सम्मान गरेको छ ।
शनिबार पालिकामा आयोजित एक कार्यक्रममा विभिन्न जोखिमपूर्ण काम गरेर जीविका चलाइरहेका ५१ श्रमिक महिलालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा ज्यामी काम गर्ने, सडक सरसफाइ गर्ने, बिजुलीको काम गर्ने आदि थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नेपालको कानुन महिलामैत्री भएको जिकिर गरे । उनले कानुन कार्यान्वयनको क्षेत्रमा भने ध्यान दिन आवश्यक रहेको बताए । उनले महिला सक्षम भए परिवार सक्षम हुने भन्दै महिलालाई अघि बढाउन उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताए । 'हामीले महिला स्वावलम्बनलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेका छौं,' उनले भने, 'छिट्टै नै पालिका लैंगिकमैत्री हुँदैछ ।'
प्रमुख खाँणले श्रम गर्ने महिलालाई सम्मान गर्नु प्रोत्साहनको पाटो भएकाले यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको जनाए ।
