बर्दिया — राजापुर नगरपालिका–४ छेदिया कर्णाली सामुदायिक वनबाट सुकेका सिसौ जातका काठ काटी गोलिया बनाएर लैजाने क्रममा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गोलिया बनाई भे १ ह ५१९३ र भे १ स २२७७ नम्बरको अटो रिक्सामा लोड गरी लैजाने क्रममा वन समितिका सदस्यले प्रहरीलाई जानकारी दिएपछि काठ, अटो रिक्सासहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पालिका–१ का ४८ वर्षीय बाँधु थारु छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी ऋषिराम घर्तीमगरले ३५ क्युफिट काठको गोलिया १२ थान, दुईवटा अटो रिक्सा बरामद गरिएको बताए । बरामद सामानको मूल्य करिब ५ लाख २१ हजार रहेको उनको भनाइ छ ।
थारुलाई आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय राजापुर बुझाइएको उनले बताए ।
