६ महिनासम्म मोटर मर्मत नहुँदा पुरानै धारा र कुवा खोज्दै

लिफ्टिङ खानेपानी मर्मत गर्न नसक्दा उपभोक्तालाई सास्ती 

फाल्गुन २१, २०८१

माधव अर्याल

Looking for old water and well without motor repair for 6 months

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घा रातमाटाकी माया सुनारको बिहान पानी बोक्दैमा बित्छ । उनलाई घरमा छोराछोरी विद्यालय पठाउन हतारो भए पनि पानीको जोहो गर्नु पहिलो काम हो । त्यसैले झिसमिसेमै पानी लिन जाने गर्छिन् ।

‘बिहानभर पानी बोकेको हो,’ धारामा पानी लिएर फर्किदै गरेकी सुनारले भनिन्, ‘चार गाग्रीभन्दा बढी ल्याउन सकिएको छैन । पानी बोक्दा ढाड नै दुःखेको छ ।’ उनका अनुसार पानी लिन धारमा गएर आउने समय एक घण्टा बढी लाग्छ ।

मौरेका ध्रुव अधिकारीले बिहान उज्यालो भएपछि १२ बजेसम्म ६ गाग्री पानी बोकेको सुनाए । जाने बाटो ओरोलो र फर्किंदा उकालो भएकाले पनि एक गाग्री पानी ल्याउन झन्डै एक घण्टा लाग्छ । यसरी पानी बोक्न थालेको पनि ६ महिना बितिसकेको उनले बताए । ‘पानी अभावकै कारण घरमा भएका बुढा बुबाआमा छाडेर कतै हिँड्न पनि सकेको छैन,’ उनले भने, ‘पानीको समस्या समाधान नहुँदासम्म कहीँ कतै हिँड्न मिलेको छैन ।’ सुनार र अधिकारीको मात्र पीडा नभई बगनासकाली गाउँपालिका–६ यम्घाको गुँगा क्षेत्रका रातमाटा, मौरे, कोलखर्कलगायतका गाउँका बासिन्दाको समग्री पीडा हो ।   

यहाँ सञ्चालित मौरे जिमिरे लिफ्टिङ खानेपानी योजनाको मोटर बिग्रिएको ६ महिना भइसक्यो । गाउँका बासिन्दा खानेपानी पिउनसमेत पुनः गाग्री लिएर लिफ्ट गरेकै पानीको मुहानसम्म पुग्नु परेको योजनाका अध्यक्ष राजेन्द्र सुनारले बताए । ‘हाम्रो उपभोक्रा समितिको खातामा पैसा छैन,’ उनले भने, ‘हारगुहार गरेका छौं तर आजआज भोलिभोलि भन्दै महिनौ बितेको छ ।’

Looking for old water and well without motor repair for 6 monthsबिग्रेको मोटर मर्मत गर्न उपभोक्ता आफैंले नसक्दा एकदेखि ढेढ घण्टा लगाएर उकालो र जंगलको बाटोमा पानी बोक्नुको विकल्प नभएको उनले बताए । खानेपानी योजना सम्पन्न भएर घरघरमा मिटरसहितको धारा जडान भएको छ । महिनौंदेखि डोकोमा खानेपानी बोक्नु परेको उपभोक्ता राधा विकको गुनासो छ । पहिला सोलार पावरबाट खानेपानी लिफ्ट भएको थियो । पछि थ्रिफेज लाइन जडान गरेर पानी तान्न थालिएको थियो । तर मोटर फेर्नुपर्ने भएपछि किन्ने बजेट नभएपछि पानी तान्न नसकिएको हो । ‘सोलारबाट राम्रोसँग पावर पुगेको थिएन,’ उनले भने, ‘पछि पावर पुग्यो भन्ने भयो तर छिट्टै मोटर जलेपछि भने समस्या भएको छ ।’

पूर्वखोला गाउँपालिका-२, जल्पाको मैदान खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पनि तीन महिना मोटर बिग्रेर समस्या खेप्नु परेको छ । लिफ्ट नगरिकन पानीको समस्या समाधान नभएपछि यहाँ २०७२ सालमा खानेपानी योजना सुरु भएको हो । योजनाका अध्यक्ष मोहन रखाल मगरका अनुसार अझै पनि योजना हस्तान्तरण भएको छैन । ‘मोटर बिग्रेपछि भने साह्रै समस्या हुने गर्छ,’ उनले भने, ‘अहिलेसम्म मोटर बिग्रे पनि डिभिजन खानेपानी कार्यालयले मर्मत गरेको छ ।’ उनका अनुसार आगामी दिनमा मोटर मर्मत वा फेर्नु पर्दा महँगो प्रविधि भएकाले थप समस्या भोग्नुपर्ने उनले बताए । मोटर बिग्रियो भने मर्मत गर्न दुई-तीन महिना लाग्ने र जल्यो वा बिग्रिँदा फेर्नु पर्दा ३ देखि ५ लाख पर्ने गर्छ । जसले गर्दा उपभोक्ता ठूलो मर्कामा पर्ने उनले बताए ।  

Looking for old water and well without motor repair for 6 monthsपाल्पाका तानसेन र रामपुर नगरपालिकालगायत आठवटै गाउँपालिकामा ७५ बढी लुम्बिनी प्रदेश सरकारले लिफ्ट खानेपानी योजना सञ्चालन गरेको छ । यसैगरी १० वटै स्थानीय तहले सय बढी लिफ्ट खानेपानी योजना सञ्चालन गरेका छन् । संघीयअन्तर्गत १८ मध्ये आधा बढी लिफ्ट खानेपानी योजना सञ्चालनमा रहेको छ । अधिकांश लिफ्ट खानेपानी योजनाका उपभोक्ता मोटर बिग्रने र फेर्नुपर्ने हुनाले मर्कामा छन् । लिफ्ट खानेपानी योजनामा समस्या आएपछि वर्षे बाहेक तरकारी खेती गर्न नसक्ने समस्या हुने यम्घा मौरेका गोविन्द अधिकारीले बताए । गाईबस्तु पाल्न सक्ने अवस्था नहुने उनले बताए । ‘अझ पिउने पानीकै कारण ज्येष्ठ नागरिक, महिला, विद्यार्थीलाई थप समस्या हुन्छ,’ उनले भने, ‘घर घरमा धारा पनि छ । मिटर पनि छ । तर बिग्रेपछि पुनः गाग्री लिएर महिनौसम्म पनि धारमा जानुपर्छ ।’ पिउने पानी जोहो गर्नै समस्या हुने भएपछि थप मर्कामा पर्ने यम्घा मौरेके हुमकान्त अधिकारीले बताए । 

Looking for old water and well without motor repair for 6 monthsयोजना हस्तान्तरण नभएका उपभोक्राले बिग्रेको मोटर मर्मतका लागि खानेपानी तथा सरसफाइ डिभिजनमा हारगुहार गर्छन् । तर डिभिजन कार्यालयले तीन महिनादेखि ६ महिनासम्म पनि नबनाउने समस्या रहेको यम्घाका उपभोक्ता धनबहादुर विकले बताए । कतिपयले पहिले सोलारबाट पानी तानेका थिए । पछिल्लो समयमा थ्रि फेज विद्युत् लाइन जोडेर मोटर जडान गरेका छन् । मोटर जल्ने, बिग्रने हुँदा कतिपयलाई नयाँ फेर्नुपर्ने अवस्था हुन्छ । खरिद गर्नका लागि आवश्यक ४ देखि ५ लाख जुटाउन नसकेपछि झिसमिसेमै खानेपानीको मुहानमा पुगिसक्ने बाध्यता आउने विकले बताए । 

Looking for old water and well without motor repair for 6 monthsपछिल्ला वर्ष संघीय, प्रदेश र स्थानीय तहले लिफ्ट प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिरहँदा यसको दीर्घकालीन समस्याका बारेमा भने ध्यान दिएको पाइँदैन । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाका इन्जिनियर सन्दीप अधिकारीका अनुसार लुम्बिनी प्रदेशस्तरीय १ सय १ सय ५० खानेपानी योजना छन् । संघीय सरकारबाट संचालित १८ वटा छन् । पालिकास्तरीय योजना सयभन्दा बढी छन् । खानेपानीको मूल सुक्दै जाँदा भने लिफ्ट खानेपानी योजना ५० प्रतिशत बढी सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका इन्जिनियर अधिकारीले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully