स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड

फाल्गुन १९, २०८१

सन्जु पौडेल

Vandalism at Bhairahawa Multipurpose Campus on the issue of Swaviyu elections

तिलोत्तमा — रुपन्देहीमा स्वतन्त्र  विद्यार्थी  युनियनको आगामी चैत ५ गते हुने चुनावको विषयलाई लिएर विद्यार्थीले क्याम्पस भित्र तोडफोड गरेका छन् ।

सोमबार बिहान साढे ८ बजे क्याम्पस प्रशासन  र निर्वाचन आयुक्तसँग चुनावको विषयबारे छलफल गर्न बैठक बसिरहँदा अनेरास्ववियु विद्यार्थी संगठनका केही विद्यार्थी बाजासहित बैठक कक्षमा प्रवेश गरी बैठक भंग गर्न खोजेकोले तोडफोड गरिएको समाजवादी विद्यार्थी युनियन इकाई कमिटी भैरहवाका इन्चार्ज इरफान अलीले बताए ।

उनले क्याम्पस प्रशासनसँग आफ्नोलगायत अन्य ४ विद्यार्थी संगठनले प्रथम वर्षको भर्ना लिन, द्वितीय र तृतीय वर्षको फागुन १८ गतेसम्म मात्र राखिएको मिति लम्ब्याउन माग गरे पनि प्रशासनले सुनुवाइ नगरेपछि आफूहरूले बैठकमा कुरा राखेर उक्त माग टुङ्गो लगाउन खोजेको उनको भनाइ छ । 'हाम्रो कुरा नसुनी क्याम्पस प्रशासनले चुनावको प्रक्रिया अघि बढाइरहेको थाहा  पाएका थियौं,' उनले भने, 'हामी पनि सोही क्याम्पसका विद्यार्थी  हौँ, हामीलाई पनि चुनावको छलफलमा सहभागी गराउनु पर्छ ।'

इरफानका अनुसार बैठकमा उनको संगठनसहित राप्रपा इकाई कमिटी, समाजवादी विद्यार्थी  युनियन नेपाल, जनमत विद्यार्थी संघ र स्वतन्त्र  मधेशी विद्यार्थी  युनियन सहभागी थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख बाबुराम काफ्लेले विद्यार्थी संगठनले आइतबार साँझ क्याम्पसमा तालाबन्दी गरेको र सोमबार आफ्ना माग राख्दै छलफल गरिरहेका बेला दल दर्ताका लागि आएको अर्को  विद्यार्थी संगठनसँग विवाद भएपछि हलमा रहेका कुर्सी, टेबल तोडफोड गरेको जनाए । उनले त्रिभुवन विश्वविद्यालयबाट रोकिएको भर्ना आफूहरूले खोल्न नमिल्ने बताए पनि विद्यार्थीले सोही माग राखिरहेको बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully