हत्या आरोपमा मृतकका बुबा र दिदी पक्राउ

फाल्गुन १९, २०८१

माधव अर्याल

The deceased's father and sister were arrested on charges of murder

पाल्पा — हत्यामा संलग्न रहेको आरोपमा पाल्पाको बगनासकाली गाउँपालिका–२, पोखराथोकबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखराथोकका ६३ वर्षीय शेरबहादुर कुमाल र ४५ वर्षीय देवी कुमाल छन् । उनीहरुलाई पोखराथोककै २९ वर्षीय यज्ञबहादुर कुमालको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । 

यज्ञबहादुर अचानक बेहोस भएपछि उपचारका लागि श्रीमतीले तानसेनस्थित मिसन अस्पताल पाल्पामा ल्याएकी थिइन् । चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर थप अनुसन्धान गर्ने क्रममा उक्त दिन यज्ञबहादुर र पक्राउ परेका दुवैबीच आपसी विवादमा झैझगडा हुने क्रममा कुटपिट गरेको खुलेको थियो ।

शेरबहादुर र देवीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । शेरबहादुर मृतक यज्ञका बुबा हुन् भने देवी दिदी हुन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully