पाल्पा — पाल्पामा प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जनालाई सोमबार पक्राउ गरेको छ । तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीय जीवन विक पक्राउ परेका हुन् ।
उनलाई अवैध भरुवा बन्दुक लुकाइराखेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको टोलीले विकलाई घरमा फेला पारी सोधपुछ गर्दा घर पछाडी खरबारीमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक थान बरामद गरिएको हो ।
साथै भरुवा बन्दुकमा प्रयोग हुने छर्रा र बारुदजस्तो देखिने कालो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढेको बताएको छ ।
