दाङ — सामुदायिक वन पैदवारमा लुम्बिनी प्रदेश सरकारले कर लगाएको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले लुम्बिनी प्रदेश सरकारको गेट अगाडि आइतबारदेखि सुरु गरेको धर्ना सोमबार पनि जारी छ ।
सरकारले सामुदायिक वनभित्र उपभोक्ताले प्रयोग गर्ने आन्तरिक खपतमा १० प्रतिशत र बाह्य खपतमा २५ प्रतिशत सेवा शुल्क लगाएको छ ।
प्रदेश आर्थिक ऐनमा वन पैदावार शुल्क बापतको रकम नियमित रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रावधान राखेको भन्दै उपभोक्ताहरु सडकमा उत्रिएका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले राप्ती उपत्यकास्थित प्रदेश सरकारको प्रशासनिक केन्द्रको मूल गेटमा धर्ना दिनुका साथै प्रदर्शन गरेको छ । सामुदायिक वनमा लगाएको कर नहटाएसम्म धर्ना जारी रहने सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले बताइन् । प्रदेश सरकारले आइतबार नै वार्ता समिति गठन गरेको थियो । वार्ताका लागि आधिकारिक जानकारी नआएकाले आन्दोलन जारी राखेको उनले बताइन् ।
वन उपभोक्ता महासंघले राखेका विभिन्न मागबारे छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो ।
लुम्बिनी प्रदेशसभा अन्तरगत रहेको कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिए ।
वार्ता समितिमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहेका छन् । वार्ताका लागि पहल भइरहेको अर्यालले बताए ।
