मिसन अस्पतालकी निर्देशक कारखलाई औषधि व्यवसायी संगम पुरस्कार 

फाल्गुन १८, २०८१

माधव अर्याल

Medicine Practitioner Sangam Award to Karakh, Director of Mission Hospital

पाल्पा — तानसेनस्थित मिसन अस्पतालकी निर्देशक डा. रचेल कारखलाई औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

युनाइटेड मिसन अस्पतालमा २० वर्षदेखि निर्देशकको भूमिकामा रहेकी कारखलाई नेपाल औषधि व्यवसायी संघ पाल्पाले आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनका अवसरमा पुरस्कृत गरिएको हो । 

कारख बेलायतमा जन्मेर पाल्पाको मिसन अस्पताललाई कर्मथलो बनाउँदै आएकी छन् । स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नगदसहित दोसल्ला, सम्मानपत्रबाट पुरस्कृत गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, पुरस्कार संस्थापक तथा संघका पूर्वअध्यक्ष रुक्मागत शर्मा, संघका अध्यक्ष जिल्ला विष्णु केसीलगायतले कारखलाई संयुक्त रूपमा पुरस्कृत गरे । 

डा. कारख ३१ वर्षदेखि मिसन अस्पतालमा कार्यरत हुन् । १९९४ मा  नेपाल आएर कारख मिसन अस्पतालमै कार्यरत छन् । उनी सन् २००२ देखि २००४ सम्म मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिन् भने सन् २००४ देखि अस्पताल निर्देशक हुन् । पुरस्कृत डा. कारखले अध्ययन गर्दा नै नेपालमा सेवा गर्ने सानैदेखिको इच्छा पूरा भएको बताइन् ।

यसैबीच, नेपाल औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा समीरमान सिंह निर्वाचित भए । अधिवेशनबाट उपाध्यक्षमा सूर्य बस्याल, महासचिवमा मैना सुवेदी, कोषाध्यक्षमा सचिन विष्ट, सचिवमा बेनिमाधव आचार्य र सहकोषाध्यक्षमा निरोज श्रेष्ठ निर्वाचित भए । सदस्यहरूमा ईश्वरीप्रसाद बीसी, रीता पाण्डे र अनिल थापा चुनिएका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully