पत्रकारदेखि तर्सने अवस्था हुनुहुँदैन : मुख्यमन्त्री आचार्य

फाल्गुन १७, २०८१

दुर्गालाल केसी

There should not be a situation of begging journalists: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारदेखि तर्सने र भाग्ने अवस्था सिर्जना नगर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार देउखुरीमा सम्बोधन गर्दै आचार्यले कतिपय पत्रकारले पत्रकारिताको मूल्य मान्यताविपरीत काम गरिरहेको गुनासो गरे । ‘पत्रकार आउनेबित्तिकै तर्सने, भाग्ने अवस्था छ । अनावश्यक आतंक सिर्जना गरिएको छ,’ उनले भने, 'यस्ता प्रवृत्ति रोक्न पत्रकारका संघसंगठनले भूमिका खेल्नुपर्छ ।’

उनले पत्रकारको व्यवहारले नै पत्रकारिताप्रतिको विश्वास आर्जन गर्न सकिने धारणा व्यक्त गरे । पत्रकारले सार्वजनिक निकायलाई रचनात्नक खबरदारी गर्नुपर्ने उनको भनाइ थियो ।

पत्रकारिताको प्रवर्द्धन र क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै उनले आगामी दिनमा पनि थप कार्यक्रम तय गर्ने बताए । 

अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगाएतका नेताहरू सहभागी छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully