'डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक'

फाल्गुन १६, २०८१

वीरेन्द्र केसी

'It is necessary to connect the promotion of religious tourism sector with technology in the digital age'

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको अर्घाखाँचीको सुपा देउराली मन्दिरलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताएका छन् ।

सुपा देउरालीसहित अर्घाखाँची संस्कृत व्याकरणको उद्‌गम थलो पाणिनि तपोभूमि, पतञ्जलीको जन्मस्थल, राणा प्रधानमन्त्री जंगबहादुरको जन्मस्थान लामपाटी दरबार, न्वारान गरेको स्थान बल्कोट पौवा, अर्घा दरबार, मालारानी मन्दिर, नृसिंहस्थान, सिद्वेश्वर शिवालय लगायतका ऐतिहासिक गन्तव्य भएको उनले बताए । 

सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं साधारण सभाको शुक्रबार उद्‌घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुपा देउरालीमा डिजिटल प्रविधिको उपयोग गरेर व्यवस्थित गर्नुपर्ने बताए । पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको उनले बताए । 

`डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक छ,´ उनले भने, ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ ।´ प्रविधिलाई उपयोग गरी अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन सहयोग पुग्ने उनले बताए । 

मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवर्धन गर्न संस्कृत व्याकरणको स्थान पणेनामा पाणिनि सम्मेलन आयोजना गर्न लागिएको बताए । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौँ’, उनले भने,‘पतञ्जली ऋषि यहीँ पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार गर्नुपर्छ ।´ 

वीरेन्द्र

Link copied successfully