पाल्पा — नेकपा एमाले पाल्पाले तीन महिने अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्लास्तरीय अभिमुखरीकरण कार्यक्रम राखेको छ । तानसेनमा सम्पन्न एमाले जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले तीन महिने अभियान सफल पार्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको हो।
नेताहरूका अनुसार शुक्रबार हुने प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय नेतादेखि वडा कमिटीका अध्यक्षको सहभागिता रहने रहेको एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।
अभिमुखीकरणमा एमालेबाट निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू सहभागी हुनेछन् । पार्टी नेतृत्व र जनप्रतिनिधिबीच शनिबार तानसेनमा कार्यक्रमसमेत गरिनेछ । तीन महिने अभियानका क्रममा २०८२ को पार्टी सदस्यता नवीकरण चैत १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
तोकिएको समयमा पालिका कमिटीमार्फत् जिल्ला कार्यालयमा नवीकरणको विवरण बुझाउनुपर्ने छ । पार्टी सदस्यता विस्तार अभियानको रुपमा सञ्चालन गर्ने, पालिका कमिटी बैठक तथा भेला गरी अभियानको व्यवस्थापन र योजना बनाइने एमालेले जनाएको छ ।
वडा कमिटीको बैठक आयोजना गरी अभियान केन्द्रीत योजना बनाई कार्यान्वयन गरिनेछ । टोल कमिटी निर्माण गरी बैठक नियमित गर्नेछ । वडा स्तरीय पार्टी प्रशिक्षण संचालन गर्ने गर्नुका साथै युवालाई कम्तीमा एक तिहाई समेट्ने योजना बनाएको छ । युवाको विवरण संकलन गर्ने कार्यक्रमसमेत एमालेले राखेको छ ।
मिथ्या र भ्रामक प्रचारको खण्डन र सकारात्मक प्रचारको कामलाई अभियानका रुपमा सञ्चालन गर्ने जिल्ला सचिव रामजी पोखरेलले बताए । विकास निर्माण, सुशासन र उद्यमशीलतामा पार्टी पङ्क्तिलाई जोड्ने निर्णय गरेको उनले बताए । पार्टीलाई अधारभूत तहसम्म विस्तार गर्ने, प्रत्येक वडा तहसम्म जनसंगठन निर्माण गर्ने कार्यक्रम रहेको छ ।
