बाँकेमा बाघ र चितुवाको आवतजावत रेकर्ड

फाल्गुन १५, २०८१

रासस

Tiger and leopard movement record in Banke

नेपालगन्ज (बाँके) — बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामरामा पाटेबाघ र चितुवा देखिएका छन् । 

निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । 

निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले करिब ८० दिनसम्म लगाइएको क्यामरामा पाटेबाघ र चितुवा देखिएका हुन् । 'बाघ र आहार प्रजातिको अवस्था बुझ्न क्यामरा लगाइएको थियो । अहिले यसलाई निकालेर विश्लेषण गर्न बाँकी छ,' उनले भने ।

पंगेनीले बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत संस्थाको संयुक्त प्राविधिक टोलीले एक महिनाभित्र विश्लेषणको काम सकेपछि वास्तविक तथ्यांक बाहिर आउने बताए ।

जिल्ला वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले कम्दी करिडोरको सामुदायिक तथा राष्ट्रिय वनमा दुई किलोमिटरको दूरीमा क्यामरा जडान गरेर पाटेबाघ र चितुवाको अध्ययन भइरहेको जानकारी दिए । ती क्यामरा करिडोरमा एक साताअघि लगाइएको थियो । क्यामरामा बाघ र चितुवा आवतजावत गरेको देखिएको र कुनकुन बाटोबाट हिँड्छन् भन्ने जानकारी समेत प्राप्त भइरहेको उनले बताए ।

वन प्रमुख गुप्ताले यसबाट  बाघ र आहारा प्रजातिको वास्तविक तथ्यांक पनि आउने बताए ।यसअघिको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ थिए । निकुञ्ज २०६७ मा स्थापना भएको थियो । 

११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित तीन सय किसिमका पन्छी, दुई किसिमका दुर्लभसहित २४ घस्रने, पाँच किसिमका दुर्लभसहित ५५ बढी प्रजातिका माछा प्रजातिका जीवजन्तु यहाँ रहेका निकुञ्ज कार्यालयले जनाएको छ । 

रासस

Link copied successfully