बुटवल — राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा प्रदेश स्तरीय जागरण सभा गर्ने भएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शनिबार शक्ति प्रदर्शन गर्ने जनाएको हो ।
राप्रपाले प्रदेशव्यापी प्रदर्शन गरिरहेको छ । कोशी र गण्डकी प्रदेशमा जागरण सभा गरेको राप्रपाले लुम्बिनीपछि कर्णाली, सुदूरपश्चिम, बागमतीमा सभा गर्ने जनाएको छ ।
प्रदेश अध्यक्ष प्रदीप उदयले बुटवलको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताले सम्बोधन गर्ने बताए । ‘राप्रपाले सबै प्रदेशमा सरकारविरुद्धको खबरदारी सभा गरिरहेको छ, त्यही अभियानअन्तर्गत बुटवलमा शनिबार जागरण सभा गर्दै छौं,’ उनले भने, ‘ठूला दलले निरन्तर जनतामा निराशा मात्रै दिएपछि आशा र निकासका लागि जागरण सभा गरिरहेका हौं ।’ मुलुकमा बढ्दो विकृति र भ्रष्टाचारविरुद्धको अभियानमा राप्रपा देश दौडाहामा लागेको उनले बताए ।
देशको राष्ट्रियतासमेत संकटमा परेको राप्रपाको दाबी छ । ‘मुलुकले निकास खोजेको छ, त्यसैले सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ,’ उनले भने, ‘राष्ट्रियता संकटमा परेकाले सबैको जागरुकता र सहयोग हामीले खोजेका छौं ।’ राप्रपाले अहिलेको गणतन्त्र र प्रदेश संरचना नै नमानेको तर यही संविधानलाई मानेर आन्दोलन गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकाले पार्टीले देशभर जागरण अभियान सुरु गरेको बताए । ‘राजा ज्ञानेन्द्र शाहबाट सम्बोधनका क्रममा मेलमिलापको स्पष्ट कुरा आएको छ,’ उनले भने, ‘हामीले त्यसलाई स्वीकार गरेर देशलाई निकास दिने गरी राजासहितको व्यवस्थाका विषयमा जनतालाई बुझाउनु जरुरी छ ।’ मुलुकमा फेरि पनि राजाको आवश्यकता देखिएको उनले दाबी गरे ।
बुटवलको ट्राफिक चोकमा हुने शनिबारको जागरण सभालाई राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, धवलशमशेर राणा, ज्ञानेन्द्र शाहीसहितका नेताले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।
