भेटनरी प्राध्यापक र विद्यार्थीको आन्दोलनले पक्लिहवा क्याम्पसको परीक्षा ठप्प

फाल्गुन १५, २०८१

दीपेन्द्र बडुवाल

Paklihawa campus exams stalled due to protests by veterinary professors and students

भैरहवा — पशु विज्ञान अध्ययन संकायलाई मूलधारमा नसमेटिएको भन्दै विभिन्न माग राखेर आन्दोलित भेटनरी प्राध्यापक तथा विद्यार्थीको अवरोधपछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत पक्लिहवा क्याम्पसका नियमित परीक्षा ठप्प भएका छन् ।

भेटनरी अध्ययनलाई पनि कृषिसरह मान्यता दिएर विश्वविद्यालयका पदाधिकारी र विशेष समितिमा नियुक्ति गरिनुपर्ने माग राखेर क्याम्पसमा कार्यरत १७ जना प्राध्यापकले गत माघ ९ गतेदेखि ‘पेन डाउन’ गरेका थिए । क्याम्पसस्थित भेटनरी शिक्षण अस्पातालका निर्देशक तथा प्राध्यापक डा. नारायण न्यौपानेले १० वर्षदेखि डीन, सहायक डीन, विशेषा समिति लगायतमा भेटनरी क्षेत्रका प्राध्यापक र विज्ञ समेटिनुपर्ने माग राख्दै आएपनि सुनुवाई नभएको बताए । ‘माग पूरा गर्नका लागि डीन कार्यालय कहिल्यै गम्भीर देखिएन,’ उनले भने, ‘जसका कारण परीक्षा रोकिनेजस्तो गम्भीर परिस्थिति उत्पन्न भएको हो ।’ गत साउनमा डीन समक्ष बुँदागत रुपमा माग राखेपनि अहिलेसम्म पूरा गर्नेतर्फ पहल नगरिएको उनले आरोप लगाए । 

आन्दोलनरत पक्षका मागमा अध्ययन संस्थानका तीन जना डीनमध्ये एक जना भेटनरीतर्फबाट नियुक्त हुनुपर्ने, संस्थानमा गठन हुने विशेष समितिमा भेटनरी शिक्षक हुनुपर्ने, असम्बन्धित व्यक्तिमार्फत उत्तर पुस्तिका जाँच गराउनुको साटो सम्बन्धित विज्ञलाई जिम्मेवारी दिनुपर्ने, क्याम्पसमा रहेको भेटनरी अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गरिनुपर्ने र छुट्टै भेटनरी क्याम्पस सञ्चालन गरिनुपर्ने लगायत छन् । ‘हामीले जाडो बिदा पारेर आन्दोलन सुरु गरेका थियौं,’ न्यौपानेले भने, ‘त्यतिबेला कानमा तेल हालेर बस्ने, अहिले परीक्षा रोकिएपछि तात्तिने भएको छ, डीनले सरले पक्लिहवामै आएर हाम्रा माग सम्बोधन गर्नुपर्ने अडान राखेका छौं ।’ 

क्याम्पस प्रमुख जन्मजय गैर्‍हेले गत माग ११ गते सूचना जारी गरेर फागुन ९ गतेबाट भेटनरी तथा कृषि संकायका परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरिएको जनाए । उनका अनुसार माघ १४ गते सम्बन्धित विषयका प्राध्यापकसित विद्यार्थीले पाउनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर माग गरिएको थियो । कृषितर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर तत्काल पठाएपनि पेन डाउन गरेको जनाउँदै भेटनरीतर्फका प्राध्यापकले पठाएनन् । नम्बर नपठाइएकाले भेटनरीतर्फका छात्रछात्रा परीक्षा फारम भर्नबाट बञ्चित भएका थिए । 

‘आन्दोलनमा रहेको जनाएर प्राध्यापकले नम्बर पठाउन मान्नुभएन,’ क्याम्पस प्रमुख गैर्‍हेले भने, ‘समस्या समाधानका लागि संयुक्त छलफल गरेर सघाउन अनुरोध गरेपनि मान्नु भएन ।’ फारम नभरिएकाले फागुन ९ गतेबाट सञ्चालन हुने तय भएको भेटनरीतर्फको परीक्षा स्थागित गरिएको फागुन ८ गते सूचना आयो । त्यसपछि भविष्यमाथि खेलबाड गरिएको जनाउँदै पुनः परीक्षा तालिका सार्वजनिक गरिनुपर्ने माग गर्दै भेटनरी छात्रछात्राले फागुन ११ गते क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गर्नुका साथै विद्युतीय हाजिरी मेसिनलाई काम नगर्ने बनाए । परीक्षा फारम भरेका कृषितर्फका विद्यार्थीभने फागुन १३ सञ्चालन भएको परीक्षामा सहभागी भएका थिए । परीक्षा सञ्चालन गरेर क्याम्पस प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको जनाउँदै भेटनरी विद्यार्थीले त्यसैदिन शिक्षा र लेखा शाखामा ताला लगाए । त्यसपछि कृषितर्फ बिहीबार सञ्चालन गरिनुपर्ने परीक्षा सम्भव नभएको क्याम्पस प्रमुख गैर्‍हेले बताए । 

‘प्राध्यापकहरुले राखेका माग क्याम्पस प्रमुखसित सरोकार राख्ने खालका छैनन्,’उनले भने, ‘डीन कार्यालयसित सरोकार राख्ने भएकाले डीन सर नै आउनुपर्ने माग छ ।’ समस्या समाधानका लागि आफूले डीन कार्यालयमा सम्पर्क गरिरहेको उनले बताए । परीक्षा रोकिएपछि क्याम्पसमा बुधबारदेखि  तनावपूर्ण माहोल छ । विद्यार्थीबीच मुठभेडको अवस्था आउनसक्ने देखिएपछि प्रमुख जिल्ला अधिकारीसित अनुरोध गरेर सुरक्षा व्यवस्था मिलाइएको गैर्‍हेले बताए । बिहीबार क्याम्पस परिसर सुनसान थियो । केही प्राध्यापक, कर्मचारी कार्यालय बाहिर र प्रयोगशालामा बसेका थिए भने सुरक्षाका लागि प्रहरी तैनाथ थिए । 

क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दीपछि टाँसिएको विरोधपत्रमा विभिन्न विद्यार्थी संगठनले शिक्षक, क्याम्पस प्रशासन र डीन कार्यालयले विद्यार्थीको हित विपरीत अडान लिँदै परीक्षाहरु अनिश्चितकालका लागि दु:खद् मात्र नभएर भयंकर लापरबाही भएको उल्लेख छ । परीक्षा स्थगित हुँदा भेटनरी संकायतर्फ स्नातक दोस्रो, चौथो र नवौं सेमेष्टरका विद्यार्थीको खेलबाट हुनु आपत्तीजनक भएको उल्लेख छ । उक्त विरोधपत्रका नेविसंघ, अनेरास्ववीयू (क्रान्तिकारी), अनेरास्ववीयूका सभापति र अध्यक्ष लगायतले हस्ताक्षर गरेका छन् । परीक्षा स्थगित भएपछि भेटनरीतर्फ अन्तिम सेमेस्टरका विद्यार्थी निराश छन् । परीक्षामा भएको ढिलाईले क्याम्पस बस्नुपर्ने अवधि लम्बिने र भेटनरी काउन्सीलको परीक्षाबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भेटनरी स्नातक तह अन्तर्गत नवौं सेमेस्टरका छात्र दीपक आचार्यले बताए । 

दीपेन्द्र

Link copied successfully