सुपा देउराली मन्दिर परिसर बिस्तारपछि दर्शनार्थीलाई सहज

फाल्गुन १४, २०८१

वीरेन्द्र केसी

After the expansion of the Supa Deurali temple complex, it is easy for the visitors

अर्घाखाँची — सुपा देउराली मन्दिर छेउमा फराकिलो प्रांगण निर्माण भएपछि तीर्थालुलाई दर्शन, पूजापाठ र मन्दिर घुम्न सहज भएको छ ।

मन्दिर छेउ भीरमा बनाइएको पिल्लरसहितको पहिलो तलामा ७ वटा कोठा, तेस्रोमा बैठक कक्ष र कार्यालय सञ्चालन गर्न मिल्ने हल छ भने तेस्रोमा दर्शक हिँड्ने बनाइएको छ । प्रांगणको बुधबार लुम्बिनी प्रदेशसभा भौतिक पूर्वाधार विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले उद्घाटन गरे । 

‘भीरमा पिल्लर राखेर मन्दिरसँग जोडेर प्रांगण निर्माण गरिएको हो,’ सुपा देउराली मन्दिर सञ्चालन समितिका सचिव हरि खनालले भने, ‘मन्दिर पछाडी उभिन, फोटो खिच्न र मन्दिर घुम्न तीर्थालुलाई अप्ठयारो थियो । अहिले सहज भएको छ । यता फराकिलो भएपछि मन्दिर अगाडी दर्शनार्थीको भीडभाड हटेको छ ।’ मन्दिरको भेटी संकलनबाट एक करोड ७ लाख रुपैयाँमा प्रांगण निर्माण सम्पन्न भएको उनले बताए । उनका अनुसार दैनिक दुई सयभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गर्छन् । शुक्रबार र शनिबार एक हजार जतिको संख्यामा भक्तजन आउँछन् । 

सुरुमा साँघुरो मन्दिरलाई १५ वर्षअघि नरनारायण बाबाले दुई करोडभन्दा बढी लगानीमा आधुनिक मन्दिर निर्माण गरेपछि भक्तजनको संख्यामा वृद्धि भएको थियो । मन्दिर पछाडी फराकिलो भएपछि भक्तजनलाई सहज भएको उनले बताए । 

कार्यक्रममा सांसद घिमिरेले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थल सुपा देउरालीमा दर्शन गर्ने भारतीय नागरिकको उपस्थिति बोक्लो हुँदै गएकाले प्रांगणले सहज बनाएको बताए । यहाँ फराकिलो सडक, नजिकै पार्किङको व्यवस्था गर्न आफुले सहयोग गर्ने उनले बताए । ‘अर्घाखाँचीको प्रमुख पर्यटकीय गन्तव्य सुपा देउराली बन्न पुगेको छ,’ उनले भने, ‘धार्मिक पर्यटन सुपा देउरालीले जिल्लाको महत्त्व बढेको छ । यहाँ आएका पर्यटकलाई सदरमुकामसहित अन्य धार्मिक तथा ऐतिहासिक प्राकृतिक पर्यटकीय स्थलमा पुर्‍याउने र स्थानीयलाई स्वरोजगार बनाउन पूर्वाधार निर्माण जरुरी छ ।’

मन्दिरमा भाकलको रुपमा पाठा चढाएपछि प्रसाद ग्रहण गर्न दुई किमी चिसो ठाउँमा पुग्छन् । 

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले दैनिक सयौं जनाको संख्यामा भित्रिने भक्तजनलाई पार्किङ, पिउने पानी, दर्शन गरेपछि घुमफिर गर्ने पूर्वाधार निर्माण गरेर एकदिन अर्घाखाँचीमा बास बसाल्नुपर्ने बताए । नरपानीको नर्तनाञ्चल पर्वत मन्दिर वरपार सुपा खोलामा स्नानको व्यवस्था गरिनुपर्ने उनले बताए । 

मन्दिरदेखि पाँच सय मिटर नजिकै दुई पहाड जोड्ने झोलुंगे पुल छ । मन्दिर दर्शनपछि केही पर्यटक पुलमा जाने र त्यहाँबाट मन्दिर, पहाडको दृश्यमा तस्बिर, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न युवावर्गको आकर्षणको रुपमा पुल रहेको शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले बताए । ‘सुपा देउरालीको महत्त्व ऐतिहासिक छ,’ उनले भने, ‘धार्मिक विश्वासले भक्तजनको हरेक वर्ष बढ्दो छ ।’

सन्धिखर्क र शितगंगा नगरपालिकाको बीचमा पर्ने सुपादेउराली मन्दिर अवस्थित छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको छेउमा पर्ने मन्दिर चारैतिर अग्लो डरलाग्दो ढुंगासहितको पहाडको बीचमा रहेको छ । योसहित तीर्थालुका लागि धर्मशालासहित अन्य पूर्वधार निर्माण भैरहेको मन्दिर सञ्चालन समितिका अध्यक्ष फर्सबहादुर खत्रीले बताए । 

वीरेन्द्र

Link copied successfully