पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको प्रसिद्ध सिद्धबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा एकै दिनमा ४० हजार बढी श्रद्धालुले दर्शन गरेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा मन्दिरमा बिहान साढे ३ बजेदेखि श्रद्धालु भक्तजनले पूजा गर्न पाएका थिए ।
बिहान ३ बजेदेखि नै मुल मन्दिर खुल्ला गरिएकाले श्रद्धालुको लाइन लागिसकेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रुपमा परिचित सिद्धबाबा पुरातात्विक, र्धािर्मक एवं पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण भएकाले श्रद्धालुहरुको घुइँचो लागेको उनले बताए । ‘अघिल्ला वर्षमा भन्दा यसपटक अझ बढी भिड लाग्यो,’ उनले भने, ‘गतवर्ष ३५ हजार बढी श्रद्धालुले दर्शन गरेका थिए भने यसपटक ४० हजार बढी श्रद्धालु मन्दिरमा पूजाआजाका साथै दर्शन गर्न आएका छन् ।’
भक्तजनले सहज रूपमा सिद्धबाबा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पाल्पाबाहेक रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आउने गर्छन् । ‘शिवको महिमा अपार, मूल मन्दिरको जिर्णोद्धार’ भन्ने नाराले सार्थकता पाउने गरी शिवरात्रि पर्व मनाइने मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताए ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्थासमेत गरिएको मन्दिर विकास समितिका अध्यक्ष शेरचनले बताए । ‘कतिपयस्थानबाट सःशुल्क पनि बस व्यवस्थापन गर्दा अझ बढी श्रद्धालु आउन सहज भयो,’ उनले भने । वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेगरी व्यवस्थापन गरिएको थियो ।
सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी, १५० बढी स्वंयसेवक र १८ वटा सिसी क्यामेराले निगरानी गर्ने व्यवस्था मिलाइएको समितिका उपाध्यक्ष अमर प्रधानले बताए । सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको उनले बताए ।
प्रचारप्रसार संयोजक तथा मन्दिर व्यवस्थापन समितिका सचिव अरबिन्द पाण्डेका अनुसार विगतमा भक्तजन २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसवर्ष दुई वटा लाइनको व्यवस्था गरिएकाले एक घण्टा भित्रमै मन्दिरमा पूजाआजा गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको बताए । तर श्रद्धालुले भने दुईदेखि तीन घण्टा समय लागेको गुनासो गरेका थिए । ‘हामी झण्डै तीन घण्टा लाइनमा बस्नु परेको थियो,’ तानसेन नगरपालिका–७, की चमेली श्रेष्ठले भनिन्, ‘जे होस् लाइनको व्यवस्थापन भने राम्रो थियो ।’
मन्दिरमा दर्शन गर्ने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सःशुल्क बस व्यवस्थापन गरिएको छ । तर भैरहवा लगायत अन्य क्षेत्रबाट चल्ने बसलेसमेत सिद्धबाबासम्म यात्रुलाई सहज तरिकाले ल्याउने व्यवस्था मिलाएकाले सहज भएको थियो । सिद्धबाबालाई पश्चिम नेपालको पशुपतिका रुपमा विकास गर्ने गरी मुख्य मन्दिरको जिर्णोद्धार गर्न लागिएको शिवरात्रि मेला संयोजक तथा समितिका सदस्य तोया लम्सालले बताए ।
शिवरात्रि पर्वका अवसरमा नेपालकै सबैभन्दा अग्लो महामृत्युन्जय शिवमूर्ति बगनासकाली–८, बराङ्दीमा पूजाआजा र दर्शन गर्नेको भीड लागेको छ । यहाँ पाल्पाका साथै छिमेकी जिल्ला स्याङ्जा, रुपन्देही, गुल्मी, नवलपरासी, कपिलवस्तुबाट समेत भक्तजनहरुको घुइँचो लागेको हो ।
पाल्पाकै तानसेनको ठुटेपिपल शिवालय, बतासेडाँडा, प्रभास, अमरनारायण मन्दिर, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको छ । प्रभासमा कृषि मेलाका साथै सांस्कृतिक कार्यक्रममा भीड लागेको वडाध्यक्ष प्रदीप खनालले बताए । उनका अनुसार कृषि प्रदर्शनी, माटो जाँच परीक्षणसमेत गरिएको थियो । साथै भजनको प्रस्तुति, सांस्कृतिक कार्यक्रमले थप रौनककता थपेको थियो । प्रभासमा बयर, उखु खाने र किनमेल गर्नेकोसमेत भीड लागेको थियो ।
तानसेनस्थित शिवालय, बतासेडाँडा, अमरनारायण शिवालय मन्दिरका साथै १०८ धारा, टिन्टीआँप शिव मन्दिर, छहरा लगायतका स्थानमा रहेका शिवालय तथा मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको भीड लागेको हो । शिवरात्रिकै अवसरमा रामपुरस्थित भुजातमा रहेको सिद्धबाबामा पनि पूजाआजा तथा भजनकिर्तन गरिएको छ ।
![40,000 Devotees Visit Siddha Baba [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/siddha-baba-mandir-vid-4-2622025024213-1000x0.jpg&w=1001&h=0)