शुद्धोधन र सियारीमा एकै रात तीन घर फोरियो, लाखौं नगद र गहना चोरी

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Three houses were burgled in one night in Suddhodhan and Siari, millions in cash and jewelery were stolen

रूपन्देही — शुद्धोधन–३ र सियारी–६ मा एकै रात तीन घर फोरेर लाखौं नगद र गरगहना चोरी भएको छ । सोमबार राती दुई घरका झ्यालका ग्रिल निकालेर र एक घरमा ताल्चा काटेर चोरी गरिएको प्रहरीले जनाएको छ ।

तीनै घरमा राती कोही नभएको मौका पारेर चोरी भएको हो । चोरीको घटनाबारे इलाका प्रहरी कार्यालय छपियाले थप अनुसन्धान गर्ने जनाएको छ ।

शुद्धोधन–३ की गोमा सापकोटाको घरमा ताल्चा काटेर चोरी गरिएको हो । यस घरबाट ३५ हजार नगद र तीन तोला बराबर सुन चोरी गरेको प्रहरीले जनाएको छ । केशवनाथ पंगेनीको घरमा झ्यालको ग्रिल बंग्याएर भित्र पसेर दराज, पलङ र पूजाकोठाका सामान यत्रतत्र छरेर सुन चोरिएको छ । पारिवारिक स्रोतका अनुसार उनको घरबाट पाँच तोला बराबर सुन चोरी भएको हो । त्यसै गरी सियारी–६ का पुण्यप्रसाद अर्यालको घरबाट नगद ४५ हजारका साथ दुई तोला बराबर सुनका गहना चोरी भएको छ । 

घटनालगत्तै प्रहरी टोली संगमटोल र सियारी पुगेर अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोत भन्यो, ‘प्रारम्भिक अनुसन्धान गर्दा समूहमा आएर चोरी गरेको देखिन्छ ।’

कान्तिपुर

Link copied successfully