लुम्बिनी प्रदेशको निजामती सेवा  नियमावली निर्माण अन्तिम चरणमा

फाल्गुन १३, २०८१

दुर्गालाल केसी

Civil Service Regulations of Lumbini State in final stage

दाङ — लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । फागुनभित्रै नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले लुम्बिनी प्रदेशले कर्मचारीमैत्री प्रदेश तथा स्थानीय निजामती सेवा ऐन निर्माण गरेको बताए । संघीय सरकारले बनाउने निजामती सेवा ऐनमा प्रदेशले समावेश गरेका नवीनतम व्यवस्था पनि समेट्न आवश्यक रहेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकालले सरकारका योजना सफल बनाउने मेरुदण्ड कर्मचारी प्रशासन भएको बताए । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष भवानी दाहालले ट्रेड युनियन अधिकारसहितको प्रणाली लागू हुनुपर्नेमा जोड दिइन् ।

निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले कर्मचारीको वृत्तिविकास र अधिकार संरक्षणका लागि प्रदेश निजामती सेवा ऐनले महत्त्वपूर्ण व्यवस्था गरेको भनाइ राखे ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully