युवाले चासो नदिँदा नौमती बजाउन सिक्दै आमाहरु

फाल्गुन ९, २०८१

सन्जु पौडेल

Mothers learning to play Naumati when the youth is not interested

लुम्बिनी — उपमहानगर स्थापना दिवसमा आयोजित झाँकी प्रदर्शनमा बुटवल–७ दीपनगरकी ६३ वर्षीया निर्मला महत जोडतोडले कर्नाल फुकिरहेकी थिइन् । उनको समूहमा अधिकांश पाका उमेरका महिला थिए । भर्खर नौमती बजाउन सिकेका पाका महिलाको जोस देखेर कार्यक्रमका मुख्य अतिथि उपप्रधानमन्त्री प्रकाशमान सिंह मक्ख थिए । नयाँ पुस्ताले चासो नदिएपछि आमाहरुले नौमती बजाउन सिकेका हुन् ।

बुटवल उपमहानगरले युवालाई स्वरोजगार बनाउन नौमती सिकाउने योजनाअनुसार अधिकांश वडामा कम उमेरका व्यक्तिले चासो नदिएपछि पाका उमेरकाले सिकेका हुन् । महतले पनि १५ दिने बाद्यबादन तालिममा सहभागी भएपछि अब यसैलाई आयआर्जनको माध्यम बनाउने सुनाइन् । सुरुमा कर्नाल फुक्दा घाँटी दुखेको र विस्तारै बानी पर्दै गएपछि सहज भएको बताइन् ।

बजाउन सिक्दा सुरुमा आत्तिए पनि अहिले राम्रो हुँदै गएको उनको भनाइ छ । बुढेसकालमा बाजा सिक्दै हिँडेकी भनेर खिसी गर्नेलाई यसैबाट आम्दानी गरेर देखाउने धोको रहेको उनले बताइन् । बाजा बजाउने तालिममा युवा उमेरका महिला आउन नचाहेपछि आफूले मौका पाएको उनले बताइन् । बुटवल–३ ज्योतीनगरकी ५२ वर्षीया ईश्वरी बस्यालले पनि सोही तालिममा सहभागी भएर ढोलक र झ्याली बजाउन सिकेकी छिन् । ‘दिनभरि फाल्तु बसेर समय खेर फाल्नुभन्दा नयाँ सीप सिक्न पाएकी छु,’ उनले भनिन्, ‘महिलाले पनि सक्छन् है भन्ने उदाहरण बन्नु छ । सिकेपछि केही न केही परिवर्तन भइहाल्छ ।’ पुरुषले बजाउँदै आएका बाजा अन्य स्थानमा पनि महिलाले बजाइरहेको देखेकाले आफुहरुलाई यसले फाइदा नै गर्ने उनले बताइन् । तालिममा सहभागी हुन घरपरिवारले पठाएकाले उनले सुनाइन् ।

Mothers learning to play Naumati when the youth is not interested

२०८१/०८२ को बजेटमा राखेको लोक संस्कृति संरक्षण तथा जगेर्नाअन्तर्गत पन्चे बाजा बजाउने तालिम दिइरहेको उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बताए । उनका अनुसार पालिकाले आह्वान गरेको सूचनामा पालिकाभित्रका १० वटा आमा समूहको निवदेन परेको थियो । ‘पहिलो लटमा ५ वटा समूहलाई सिकाइरहेका छौं,’ उनले भने, ‘यसलगत्तै पुनः १५ दिनको तालिम संचालन हुनेछ ।’ बाजा सिकाउनका लागि गत पुसमा बसेको नगरसभाबाट १५ लाख बजेट विनियोजन गरेको उनले बताए । ‘पाका महिलाले सिकेर आफ्ना समूहका दिदीबहिनीलाई पनि सिकाउन भन्ने उद्देश्य छ,’ उनले भने, ‘उहाँहरुले सिकेपश्चात् बाजा साथमा राख्न पाउनु हुनेछ ।’ 

बुटवल–९ की पार्वती जिसीले आफूजस्ता महिलालाई यो सीप फाइदाजनक भएको बताइन् । ‘वरपर धार्मिक कार्यक्रमदेखि विवाह, पूजाआजा हुँदा हामीहरु बजाउने छौं,’ उनले भनिन्, ‘यो तालिमले बजाउन मात्र नभइ आत्मविश्वास बढाउन, विभिन्न समूहमा आबद्ध दिदीबहिनीसँग परिचय हुने पनि मौका मिलेको छ ।’

Mothers learning to play Naumati when the youth is not interestedबुटवल उपमहानगरपालिकाले सुरु गरेको नौमती बाजा तालिममा सहभागी महिला बाजा बजाउदै । तस्बिर : सन्जु/कान्तिपुर

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully